गाडीको ठक्करबाट बालिका मृत्यु घटनाबारे रास्वपा : आवश्यक पहल भइरहेको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रौतहटमा चुनावी प्रचारमा रहेको गाडीको ठक्करबाट बालिका मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ । शुक्रबार महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै सो घटनाको वस्तुनिष्ठ छानविनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
विज्ञप्तीमा भनिएको छ,“रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अत्यन्तै स्तब्ध र मर्माहत भएको छ। यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं।”
अगाडी भनिएको छ,“पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं। कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन। साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं।”
चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत जारी गर्दछौं।
कविन्द्र बुर्लाकोटी
पार्टी महामन्त्री



