८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

कालो चस्माभित्र लुकेका बालेन शाह को हुन् ?


January 26, 2026
332
Shares

कालो चस्मा, स्पष्ट बोली र फरक सोच—यी तीन पहिचानले आज नेपाली राजनीतिमा बालेन शाहलाई छुट्टै उचाइमा उभ्याएको छ । काठमाडौं महानगरपालिकाको नेतृत्व हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरेका बालेन शाह केवल एक नेता मात्र होइनन्, उनी पुस्तान्तरणको प्रतीक हुन्।

बालेन शाहको पूरा नाम बालेन्द्र शाह हो। उनका बुबा रामनारायण शाह आयुर्वेदिक चिकित्सक हुन् भने आमा ध्रुवदेवी शाह गृहिणी। राजनीतिक पृष्ठभूमिबाट होइन, सामान्य मध्यमवर्गीय परिवारबाट हुर्किएका बालेनको जीवन संघर्ष, अध्ययन र सिर्जनशीलताले बनेको हो।

२०४६ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका बालेन हाल तिनकुने, गैरीगाउँका स्थायी बासिन्दा हुन्। उनको पुख्र्यौली थलो भने मधेश प्रदेशको महोत्तरी जिल्ला हो।

इञ्जिनियर, ¥यापर र विद्रोही सोच

पेसाले सिभिल इञ्जिनियर बालेनले काठमाडौंको भीएस निकेतन कलेजबाट प्लस–टु र हिमालयन ह्वाइटहाउस इञ्जिनियरिङ कलेजबाट स्नातक अध्ययन गरे। त्यसपछि भारतको कर्नाटकस्थित विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर पूरा गरे।

२०७२ सालको महाभूकम्पपछि उनी देशका विभिन्न स्थानमा पुगेर पुनर्निर्माण कार्यमा सक्रिय भए। उनले आफ्नै नाममा बालेन कन्सल्टिङ एन्ड कन्स्ट्रक्सन प्रालि समेत सञ्चालन गर्दै आएका छन्।

तर बालेनको परिचय इञ्जिनियरिङमै सीमित रहेन।

¥यापबाट राजनीतिसम्म

सानैदेखि कविता र सङ्गीतमा रुचि राख्ने बालेन नेपाली ¥याप ब्याटल क्षेत्रका चर्चित नाम हुन्। नेपाली ¥याप ब्याटलको दोस्रो लिगका विजेता बालेनले २०१२ मा ‘सडक बालक’ गीतमार्फत संगीत यात्रा सुरु गरेका थिए। त्यो गीत उनले कक्षा ९ मै लेखेका थिए।

देश–विदेशमा उनका हजारौं फ्यान छन्। संगीतमा देखिएको विद्रोही चेतना पछि राजनीतिमा पनि उस्तै स्पष्ट देखियो।

राजनीतिप्रतिको असन्तुष्टि र विकल्पको खोजी

इञ्जिनियरिङ अध्ययनकै क्रममा देशको राजनीतिक अवस्थाले बालेनलाई निराश बनाएको थियो। उनी सामाजिक र राजनीतिक विषयमा गहिरो चासो राख्थे। सुरुमा विवेकशील पार्टीप्रति आकर्षित भए पनि औपचारिक सदस्यता लिएनन्। विवेकशील–साझा विभाजनको समयमा मेयरमा उठ्ने चाहना भए पनि त्यो सपना तत्काल पूरा भएन।

तर उनले सपना छाडेनन्।

एक्लै भिडेर इतिहास

राजनीतिक दलहरूको बलियो पकड रहेको काठमाडौंमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा उठेर बालेन शाहले इतिहास रचे। परम्परागत राजनीतिको ‘एकछत्र राज’ भत्काउँदै उनले जनमत आफ्नो पक्षमा पारे।

पारिवारिक जीवन

बालेनका दाजु कुशल शाह चार्टर्ड एकाउन्टेन्ट हुन्, भाउजू बैंकमा कार्यरत छिन् भने बहिनी चित्रकार हुन्। उनकी श्रीमती सविना शाह जनस्वास्थ्य क्षेत्रमा कार्यरत छिन्। उनीहरूको प्रेम विवाह भएको हो।

नयाँ यात्रा, नयाँ चुनौती

“हुने बिरुवाको चिल्लो पात” भनेझैं, संगीत, इञ्जिनियरिङ र राजनीतिमा सफलता हात पार्दै आएका बालेन शाह आज राष्ट्रिय राजनीतिमा थप ठूलो यात्राको तयारीमा छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार बनेर झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रिएका छन्।

इच्छाशक्ति, निरन्तर कर्म र फरक सोचले जे पनि सम्भव हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन्—बालेन्द्र शाह।

उनको आगामी यात्राका लागि शुभकामना।

 

प्रतिक्रिया