३ माघ २०८२, शनिबार | January 17, 2026

३३ कोटी भगवानको बास रहेको सालिनदीको सांस्कृति र धार्मिक महत्व के छ ?


January 17, 2026
0
Shares

मानिस सानो होस् वा ठूलो, धनी होस् वा गरिब—सबैको जीवनमा कुनै न कुनै रूपमा भगवानप्रतिको आस्था र विश्वास हुन्छ। मानिस खुसी हुँदा होस् या दुःखी अवस्थामा, सबैभन्दा पहिले सम्झिने शक्ति भगवान नै हुन्। दुःखबाट पार लगाइदिन्छन्, अभाव र समस्याबाट मुक्ति दिलाउँछन् भन्ने गहिरो जनविश्वास छ। यही विश्वासकै आधारमा संसारभर धर्मका नाममा, भगवानका नाममा अनेकौँ चाडपर्व र संस्कृति मनाइन्छन्। नाम फरक–फरक भए पनि आस्थाको मूल एउटै हो। “जसको कोही हुँदैन, उसका भगवान हुन्छन्” भन्ने भनाइले पनि यही भाव प्रकट गर्छ। भगवानको महिमा अपरम्पार छ।

यही आस्थाको एउटा महत्वपूर्ण स्वरूप हो—हिन्दु धर्मावलम्बीले श्रद्धापूर्वक पूज्ने श्री स्वस्थानी माता। माघ महिनाभरि व्रत बसेर, पूजा–अर्चना गरेर स्वस्थानी माताको महिमा गाइन्छ। श्री स्वस्थानी माताप्रतिको लगाव, विश्वास र विशेषगरी शालीनदीको ऐतिहासिक तथा धार्मिक महत्व हिन्दु धर्मावलम्बीका लागि अत्यन्तै महत्वपूर्ण छ। काठमाडौंको साँखुस्थित श्री स्वस्थानी मन्दिर प्राङ्गणबाट कलकल बग्ने शालीनदी माघ महिनाभरि आस्थाको केन्द्र बन्छ। यहाँको जल छोएमात्रै पनि पुण्य प्राप्त हुन्छ भन्ने आम विश्वास छ। यही विश्वासका कारण देशका विभिन्न ठाउँ तथा विदेशबाट समेत भक्तजन शालीनदीमा डुबुल्की मार्न आउने गर्छन्। श्री स्वस्थानी मातालाई शिवशक्ति स्वरूपकी शक्तिमान देवीका रूपमा पूजा गरिन्छ। जानी–नजानी भए पनि स्वस्थानी माताको पूजा गर्नेको घरमा धनधान्य बढ्छ भन्ने जनविश्वास गहिरो छ।

श्री स्वस्थानी मन्दिर प्राङ्गणमा आँखा चिम्म गरेर ध्यानमा लीन भक्तजन देखिन्छन्। कोही भजन गाउँदै नाचिरहेका छन्, कोही धुनी जगाएर झुमिरहेका छन्। माघ महिनाको मुटु कमाउने सिरेटो, उस्तै वेगमा बगेको चिसो हावा र कहिले देखिने, कहिले हराउने मधुरो घाम—यही मौसम हो शालीनदी परिसरको।

शालीनदी पुग्ने जो–कोहीले त्यहाँ पुग्दा छुट्टै अनुभूति गर्छ। टनटन बजिरहेका घण्टाहरू, भजन–कीर्तनको सुमधुर धुन, ध्यानमा मग्न भक्तजन, चिलिम समातेका बाबाजी, मन्दिर परिसरमै श्री स्वस्थानी व्रतकथा वाचन गर्दै पण्डितहरू, पूजा गरिरहेका श्रद्धालु र निधारमा टीका लगाइदिँदै गरेका गुरुबाहरू—यी सबै दृश्यले शालीनदीलाई जीवित तीर्थस्थल बनाइदिन्छ। चराचुरुङ्गीको कलरव र नदीको सुसाएको मिठो धुनले वातावरण झनै आध्यात्मिक बनाउँछ।

जाडोको प्रवाह नगरी कुण्डमा स्नान गर्ने भक्तजनको श्रद्धा अलग्गै देखिन्छ। मन्दिर प्राङ्गणको विशाल शिलामाथि शिर नुहाएर भक्तिभाव प्रकट गर्ने श्रद्धालुको विश्वास पनि उत्तिकै गहिरो छ। शिरमा जल अर्पण गर्दै हात जोड्ने दर्शनार्थीको भरोसा झन् प्रिय देखिन्छ। कोही गुरुबाट टीका–आशीर्वाद लिँदैछन्, कोही मन्दिरभित्र पूजा–अर्चनामा व्यस्त छन्। शालीनदी दर्शन गर्न हरेक उमेर र वर्गका मानिसहरू पुग्ने गर्छन्।

मन्दिर प्राङ्गण घुम्दै गर्दा सहजै लाग्छ—हरेकको छुट्टै भगवान हुन्छ। भगवानप्रतिको आस्था, विश्वास र महिमाभन्दा ठूलो सन्तुष्टि अरू केही हुँदैन। पुस्तौँदेखि घर–घरमा वाचन हुँदै आएको श्री स्वस्थानी माताको कथा र शालीनदीको शक्तिको अगाडि मानिसहरू नतमस्तक देखिन्छन्। आस्था, विश्वास र भरोसाको सामु सबै कुरा फिका लाग्छ।

मन्दिरको गेटबाट भित्र छिर्दा कर्णप्रिय भजन सुन्न सकिन्छ। भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरीको टोली २४सै घण्टा तैनाथ छ। माधवनारायण मन्दिर निर्माणाधीन अवस्थामा छ भने अन्य केही संरचनाहरू पनि बन्दैछन्। मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रलाई पवित्र तीर्थस्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ योजनाबद्ध रूपमा काम गरिरहेको छ। श्री स्वस्थानी व्रतकथासँग सम्बन्धित गोमा ब्राह्मणीको कुटी, नवराजको दरबार, चन्द्रावतीको माइतीघर र आसपासका गाउँहरूको संरक्षणमा पनि समिति जुटेको छ।

काठमाडौं उपत्यकाको उत्तर–पूर्वमा अवस्थित प्राचीन नगर साँखुस्थित शालीनदी ऐतिहासिक, धार्मिक र पौराणिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थान हो। यहाँ हिन्दु धर्मका तेत्तीस कोटी देवताको बास रहेको किंवदन्ती छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हरेक घरमा श्री स्वस्थानी परमेश्वरीको पूजा–आराधना गरिन्छ। व्रत बस्दा र पूजा गर्दा जीवनभर गरेका पाप नाश हुने र पुण्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

किंवदन्तीअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति रूपमा पाउन विष्णु भगवानको सल्लाहअनुसार एक महिनासम्म निराहार व्रत बसेर श्री स्वस्थानी माताको पूजा गरेकी थिइन्। मनोकांक्षा पूरा भएपछि पार्वतीले लोककल्याणका लागि यो व्रतको प्रचार–प्रसार गर्दै गरिब र दुःखीको उद्धार गरेकी थिइन्।

एकतीस अध्याय रहेको श्री स्वस्थानी व्रतकथाको बाह्रौँ अध्यायमा श्री स्वस्थानी माताको महिमाको विशेष वर्णन पाइन्छ। व्रत बसेर कथा श्रवण गरेमा रोग–व्याधि नाश हुने, दुःख हरण हुने र मनले चिताएको पूरा हुने विश्वास छ। कथामा गोमा ब्राह्मणी, नवराज, चन्द्रावती, पार्वती, सतीदेवी लगायत पात्रहरूको जीवन कथा समेटिएको छ। व्रत अवधिभर पशुपतिनाथ, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीका अंग पतन भएका स्थानमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वासका कारण यी स्थानहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ।

बुटवलका माधव आचार्य हरेक माघ शालीनदी दर्शनका लागि काठमाडौं आउने गर्छन्। यहाँ आएर मागेका कामना पूरा हुँदै गएको उनको अनुभव छ। “पहिले आफ्नै लागि मागिन्थ्यो, अहिले छोराछोरीको भलो होस् भनेर स्वस्थानी माताको दर्शन गर्छु,” उनी भन्छन्। घरमै स्वस्थानी व्रतकथा वाचन गर्दा पनि छुट्टै आनन्द मिल्ने उनको भनाइ छ।

मकर स्नानका लागि जनकपुरकी लालदेवी यादव पनि शालीनदी पुगेकी छन्। मकर स्नान गर्दा रोग नलाग्ने, चिसो नछुने र दुःख–पीडाबाट मुक्ति मिल्ने विश्वास उनका लागि मुख्य कारण हो। छोराछोरी काठमाडौंमै बस्ने भएकाले उनी हरेक वर्ष माघी मनाएपछि शालीनदी आउने गर्छिन्। “मन्दिर आएपछि मन हलुका हुन्छ,” उनी भन्छिन्।

मन्दिर परिसरमा शालीनदीलाई व्यवस्थित गरी जलकुण्ड बनाइएको छ, जहाँ भक्तजन स्नान गर्छन्। नदीमा साबुन र स्याम्पु प्रयोग निषेध गरिएकाले पानी स्वच्छ देखिन्छ। नदी किनारमा व्यवस्थित रूपमा धाराहरू निर्माण गरिएका छन्, जहाँ तातो पानीको सुविधा पनि छ। गत वर्षको तुलनामा यस वर्ष भक्तजनको संख्या बढेको देखिन्छ। स्वस्थानी व्रत सुरु भएसँगै माधवनारायण भगवानलाई प्रदेश यात्रामा लैजाने परम्परा पनि छ। माधवनारायण र श्री स्वस्थानी माताको व्रत एकै दिन सुरु हुन्छ।

श्री स्वस्थानी मन्दिर करिब ३०० वर्ष पुरानो मानिन्छ भने माधवनारायणको पूजा करिब ७०० वर्षअघि सुरु भएको विश्वास छ। शालीनदी भने करिब १३०० वर्षदेखि बगिरहेको किंवदन्ती पाइन्छ। मन्दिरमा दैनिक सूर्यभजन हुन्छ र बाह्रै महिना पूजा–आराधना चलिरहन्छ। माधवनारायण र श्री स्वस्थानी माताको महिमा उस्तै अटल मानिन्छ। शालीनदीको जल छोएमात्रै पनि जीवनका पाप नाश हुन्छन् भन्ने विश्वास आज पनि उत्तिकै बलियो छ।

तेत्तीस कोटी देवताको बास रहेको मानिने यस शालीनदी परिसरमा बासुकी नाग, बद्रिनारायण, सत्यनारायण, महादेव, गणेश, १०८ महादेव र स्तम्भमा नारायणको स्थापना गरिएको छ। करिब ५४ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर परिसरलाई अझ व्यवस्थित र विकसित तीर्थस्थलका रूपमा रूपान्तरण गर्ने योजना व्यवस्थापन समितिले अघि बढाइरहेको छ।

प्रतिक्रिया