१९ बैशाख २०८३, शनिबार | May 2, 2026

नेजाको १९औँ साधारण सभा आजदेखि बाल्टिमोरमा,पत्रकारहरु भेला हुँदै


415
Shares

बाल्टिमोर, मेरिल्याण्ड — उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १९औँ साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ।

नेपाली सञ्चार क्षेत्र र डायस्पोराका मुद्दामाथि केन्द्रित हुने यो महत्त्वपूर्ण साधारण सभा शनिबारदेखि अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा सुरु हुँदैछ।

आयोजकका अनुसार साधारण सभाको उद्घाटन आज दिउँसो १ बजे बालटिमोरस्थित होलिडे इन टाउसनको सभाकक्षमा हुने तय गरिएको छ। उद्घाटन समारोहमा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत सरद राज अरन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

साधारण सभा संयोजक तथा नेजाकी क्षेत्रीय संयोजक सिर्जना काफ्लेका अनुसार अमेरिकाका विभिन्न राज्यबाट नेजाका सदस्य पत्रकारहरू बाल्टिमोर पुग्ने क्रम जारी छ। यसले उत्तर अमेरिकामा नेपाली पत्रकारिताको नेटवर्क थप सुदृढ हुने अपेक्षा गरिएको छ।

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत तथा पारित गरिनेछ भने आगामी वर्षका लागि नयाँ कार्यक्रम र रणनीतिहरू स्वीकृत गरिने कार्यसूची तय गरिएको छ।

त्यसैगरी, संस्थागत सुधार र समयसापेक्ष व्यवस्थापनलाई ध्यानमा राख्दै नेजाको विधान संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ। यसका लागि वरिष्ठ पत्रकार Satish Chapagain को संयोजकत्वमा विशेष समिति गठन गरिएको छ।

उत्तर अमेरिकामा नेपाली पत्रकारहरूको पेशागत एकता, क्षमता अभिवृद्धि र समुदायका आवाजलाई सशक्त बनाउने उद्देश्यसहित हुन लागेको नेजाको यो साधारण सभालाई विशेष चासोका साथ हेरिएको छ।

 

प्रतिक्रिया