१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

कांग्रेसमा अब गुटको बहस अन्त्य गरौँ, एकतामा जुटौँ : महामन्त्री गुरुराज घिमिरे


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे ले पार्टी अहिले इतिहासकै संवेदनशील र निर्णायक मोडमा उभिएको बताएका छन्। विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भइसकेको अवस्थामा त्यसको वैधतामाथि अनावश्यक विवाद गर्नु पार्टीलाई कमजोर बनाउने काम मात्र हुने उनको स्पष्ट सन्देश छ।

घिमिरेले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग ले वैधानिक मान्यता दिइसकेको र सर्वोच्च अदालत ले समेत त्यसलाई कानुनी आधार प्रदान गरिसकेको उल्लेख गर्दै अब पक्ष–विपक्षको बहसको औचित्य समाप्त भएको बताएका छन्।

उनले विगतका आन्तरिक तिक्तता, गुटगत टकराव र व्यक्तिगत कटुतालाई बिर्सेर पार्टीको बृहत्तर एकताका लागि सबै नेता–कार्यकर्तालाई एक ठाउँमा उभिन आग्रह गरेका छन्। उनका अनुसार अहिलेको प्राथमिक जिम्मेवारी नेतृत्वको वैधतामाथि प्रश्न उठाउनु होइन, पार्टीलाई बलियो बनाएर आगामी १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गराउनु हो।

महामन्त्री घिमिरेले असन्तुष्ट धारका नेता शेरबहादुर देउवाशेखर कोइराला समूहलाई समेत खुला निम्तो दिँदै सबै संवाद, छलफल र सहमतिको केन्द्र पार्टी केन्द्रीय कार्यालय सानेपा नै हुनुपर्ने बताएका छन्।

उनको सन्देश स्पष्ट छ— अब कांग्रेसभित्र समानान्तर शक्ति केन्द्र बनाउने होइन, एउटै छानामुनि बसेर समाधान खोज्ने समय आएको छ। गुटको राजनीति लम्ब्याउने हो भने त्यसको मूल्य पार्टीले मात्र होइन, लोकतान्त्रिक शक्तिले पनि चुकाउनुपर्ने चेतावनी उनले दिएका छन्।

प्रतिक्रिया