गगनको नेतृत्वको कांग्रेसले देशलाई पपुलिज्मको भड्खालोमा पर्नबाट जोगाउन सक्छ !
काठमाडौं । नवयुवाका आकांक्षा र मागहरू सम्बोधन गर्ने दाबीका साथ केही नयाँ राजनीतिक दलहरू उदाए, र वैकल्पिक राजनीतिका पुरानै अनुहारहरूले नयाँ व्यक्तिहरूलाई अगाडि सार्दै आफूलाई पुनःस्थापित गर्ने प्रयास गरे। यी दलहरूले शासन प्रणाली, शासक वर्ग र प्रशासनिक संरचनामाथि तीखा प्रश्न उठाएका छन् । आक्रोश, आवेग र असन्तुष्टिको स्वर उनीहरूको राजनीतिक भाष्यको मूल शक्ति बनेको छ । तर ती प्रश्नहरूको उत्तर र व्यवहारिक समाधान प्रस्तुत गर्ने क्षमतामा भने गम्भीर कमी देखिन्छ ।
वैकल्पिक राजनीतिका कतिपय अगुवाहरूको विगत स्वयं प्रश्नको घेरामा छ । कुलमान घिसिङजस्ता पात्रहरू सरकारमै रहँदा घटेका ४३ करोड काण्डलगायतका अनियमितताको शृङ्खला छायामा पार्न वा त्यसबाट उम्कन राजनीतिक सक्रियतामा प्रवेश गरेको आरोप लाग्दै आएको छ । उता, रवि लामिछानेमाथि सहकारीमार्फत गरिब र मध्यम वर्गीय नागरिकले जम्मा गरेको बचत अपचलनको विषयमा कानुनी प्रक्रिया अघि बढिरहेको अवस्था छ ।
गहिरो असन्तुष्टि बोकेका र स्थापित राजनीतिक संरचनाभन्दा फरक विकल्प खोजिरहेका जनताका लागि आफ्नो भावना अभिव्यक्त गर्ने स्थान सीमित रह्यो । परिणामस्वरूप, उनीहरूका असन्तुष्टि र आशा–आकांक्षा तिनै वैकल्पिक राजनीतिका ‘टेस्टेड’ तर विवादास्पद पात्रहरूमा केन्द्रित हुन पुगे । यसले वैकल्पिक राजनीतिले साँच्चिकै नयाँ समाधान दिएको हो कि केवल पुरानै समस्यालाई नयाँ भाष्यमा प्रस्तुत गरेको मात्र हो भन्ने प्रश्नलाई अझ तीव्र बनाएको छ ।
गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस पुगेमा त्यो मतदाताका लागि एक सशक्त र विश्वसनीय विकल्प बन्न सक्छ । कारण—कांग्रेस स्थापित राजनीतिक दल हो, तर गगनले प्रतिनिधित्व गर्ने नेतृत्व परिवर्तनको स्पष्ट एजेन्डासहित अघि बढिरहेको छ ।
गगन थापाले लेखेका नीति–दस्तावेज, दिएका सार्वजनिक अभिव्यक्ति, सूक्ष्म तर प्रभावकारी रूपमा गरेका काम, अनुसन्धानमूलक पहल र विभिन्न विषयमा लिएका अडानहरूलाई हेर्दा उनी लोकप्रियतावादी (पपुलिस्ट) नेता होइनन्, बरु व्यवहारवादी (प्राग्म्याटिक) नेताका रूपमा स्थापित देखिन्छन् । देशलाई पपुलिज्मको सजिलो तर खतरनाक बाटोबाट जोगाउन यस्तै सोच, संयम र विवेक भएको नेतृत्व आजको राजनीतिमा अपरिहार्य भइसकेको छ ।
यस्तो प्रयास कांग्रेसमा मात्र होइन, अन्य राजनीतिक दलहरूमा पनि आवश्यक छ । तर एमाले–नेकपाजस्ता पुराना दलहरूले आन्तरिक जडता र नेतृत्व परिवर्तनप्रतिको अनिच्छाका कारण त्यो अवसर लगभग गुमाइसकेका छन् । अहिलेको अवस्थामा परिवर्तनको ऐतिहासिक जिम्मेवारी बोकेको दल कांग्रेस मात्रै देखिन्छ ।
राजनीतिक दलहरू स्वयं राज्य सञ्चालनका संस्था हुन् । पार्टी कमजोर हुँदा राज्य बलियो हुन सक्दैन । नेतृत्व खराब भए पार्टी बिग्रन्छ, र पार्टी बिग्रिँदा लोकतन्त्र नै कमजोर हुन्छ । यसको विपरीत, इमानदार, दूरदृष्टि र दृढतासहितको युवा नेतृत्व पार्टीको हातमा पुगेमा त्यसले दललाई मात्र होइन, देशकै राजनीतिक दिशा परिवर्तन गर्न सक्छ ।
काठमाडौंको भृकुटीमण्डपमा भेला भएका नेपाली कांग्रेसका करिब दुई तिहाइ महाधिवेशन प्रतिनिधिहरूले यही यथार्थलाई आत्मसात् गरेको संकेत दिएका छन् । यो केवल नेतृत्व परिवर्तनको चाहना होइन, कांग्रेसमार्फत देशलाई नयाँ राजनीतिक बाटोमा लैजाने चेतनाको अभिव्यक्ति हो ।


