२८ पुस २०८२, सोमबार | January 12, 2026

नुवाकोट-१ : युवाको आवाज, परिवर्तनको आधार


January 12, 2026
1.2k
Shares

नुवाकोट क्षेत्र नं. १ का घर–घरमा आज एउटै कथा दोहोरिएको छ—
कसैको छोरा खाडीमा छ, कसैको दाजु मलेसियामा, कसैको छोरी युरोप पुग्ने नाममा ऋणको भारी बोकेर हिँड्दैछ। यहाँ युवाको विदेशिनु रहर होइन, बाध्यता हो। यो बाध्यता राज्यले सिर्जना गरेको हो, र यसको मूल्य नुवाकोटका परिवारहरूले तिरिरहेका छन्।

नुवाकोटमा शिक्षा छ तर रोजगार छैन ।
सीप छ तर अवसर छैन।
मेहनत छ तर पहुँच छैन।

यही अन्यायले नुवाकोट क्षेत्र नं। १ लाई श्रम निर्यात गर्ने क्षेत्र बनाइयो। रेमिटेन्सले देश चलिरहँदा, यही रेमिटेन्स पठाउने युवाको मत भने गणनामा पर्दैन।
यो अन्याय नुवाकोटका जनताले स्वीकार गर्ने छैनन्।

हाम्रो स्पष्ट प्रतिबद्धता

१। विदेशिएका नुवाकोटे युवाको मताधिकार
नुवाकोट क्षेत्र नं। १ का हजारौँ मतदाता विदेशमा छन्। उनीहरूबाट रेमिटेन्स त लिन्छौँ, तर मत दिन नदिने व्यवस्था अन्त्य हुनुपर्छ। विदेशस्थित नेपालीका लागि सुरक्षित र प्रविधिमैत्री मतदान व्यवस्था हाम्रो पहिलो राजनीतिक एजेन्डा हो।

२। नुवाकोटमै रोजगारी, नुवाकोटमै भविष्य
नुवाकोटलाई श्रमिक पठाउने जिल्ला होइन, उत्पादन गर्ने जिल्ला बनाइनेछ।
कृषि, कफी, पर्यटन, साना उद्योग र सहकारीमार्फत स्थानीय रोजगारी सिर्जना हाम्रो प्राथमिकता हो।

३। शिक्षा र रोजगारीको बिचौलिया अन्त्य
नुवाकोटका युवा शिक्षा र वैदेशिक रोजगारका नाममा ठगिनु हुँदैन। बिचौलियाको संरक्षण गर्ने राजनीतिक संस्कार अन्त्य गरिनेछ।

४। पहुँच होइन, पात्रता
सरकारी सेवा, परियोजना र अवसर पार्टी र नातावादका आधारमा होइन, योग्यता र मेहनतका आधारमा वितरण हुनुपर्छ।

५। जवाफदेही प्रतिनिधि, देखिने सांसद
नुवाकोट क्षेत्र नं। १ ले अब पाँच वर्ष काठमाडौँ हराउने सांसद होइन,
जनताबीच बस्ने, जनताको प्रश्नमा जवाफ दिने प्रतिनिधि खोजेको छ।

यो चुनाव किन फरक छ ?

यो चुनाव पार्टीको झण्डाको होइन,
नुवाकोटको भविष्यको चुनाव हो।

यदि तपाईं पनि
– युवाको पलायनबाट थाक्नुभएको छ,
– खोक्रो आश्वासनबाट दिक्क हुनुहुन्छ,
– र नुवाकोटलाई आत्मनिर्भर बनाउने नेतृत्व चाहनुहुन्छ भने

यो पटक निर्णय स्पष्ट गरौँ।
नुवाकोट क्षेत्र नं १ बाट परिवर्तनको सुरुवात गरौँ।

संजिव गुरुङ्ग
नुवाकोट क्षेत्र नं. १,स्वतन्त्र उम्मेदवार

प्रतिक्रिया