२५ पुस २०८२, शुक्रबार | January 10, 2026

नयाँ नयाँ नै हो, पुरानो पुरानै हो : विश्लेषक पन्थी


January 8, 2026
1.7k
Shares

काठमाडौं,२४ पुस । भदौ २३ र २४ को घटनालाई मानक बनाएर र त्यसलाई प्रस्थान बिन्दु बनाएर राजनीतिलाई नयाँ गति दिने उदघोष र नेतृत्त्व त्यो मुभमेन्ट गर्ने शक्तिले गरी नै रहेको छ ।

भ्रष्टाचार र कुशासनको आहालमा डुबेका भनिएका पुराना राजनीतिक दल र तिनका नेताको भागाभाग भयो । पार्टी कार्यालय जलाइए, व्यक्तिका समेत घरमा आगजनी भयो । २३ गतेका प्रदर्शनकारी जेनजी माथिको आक्रमण र हताहती जस्तो तत्कालीन सरकारको अहङ्कारी कदविरुद्ध जानआक्रोस व्यापक बनेका कारण संसद रहेन, त्यो भवन जल्यो । सरकार रहेन, सिंहदरवार जल्यो । र न्यायालय समेत जल्यो ।

तत्कालीन जननिर्वाचित सरकारमा सहभागी सबैभन्दा ठूला दलहरुले नै विद्रोह पछि गठित नागरिक सरकारले गर्ने चुनाबमा भाग लिने भन्नुको मतलवलाई उदारता भन्ने कि आफूहरुले भ्रष्टाचार र कुशासन गरेका कारण लुरुक्क परेर चुनावमा गएको बुझ्ने ? केवल खाने मानसिकता बोकेर यिनीहरू चुनावमा जाँदा नयाँ शक्तिसँग प्रतिस्पर्धा गर्ने सामन्य नैतिक बल र विश्वस्त हुने कुनै आधार त देखिदैन ।

अनि पुराना दलका कतिपय मानिसले त्यही २३/२४ कै विद्रोहलाई आधार बनाएर राजनीति गर्छु भनेको सुनिन्छ तर तिनीहरूमा आफ्नो पर्टीको सिद्धान्त ठीक थियो, इतिहास गौरवपूर्ण थियो, नेता र नेतृत्त्व ठीक थियो भन्न समेत सकिरहेको देखिदैन । हामीमा आजकल मात्रै विकृति आएको हो, यसलाई करेक्सन गरेर जन कल्याणकारी आफ्नो पुरानो सिद्धान्त पुनःस्थापित गर्छौं भन्ने आवाज नसुनिनुले त्यसमा पनि जनताले विश्वास गर्ने कूनै आधार देखेका छैनन् ।

जनताका पक्षमा काम नगर्ने र गर्न नसक्ने राजनीतिक दललाई जनताले समातिरहनु पर्दैन । यो सर्वजनीन विषय हो । सत्ता र शक्तिको भोगको मात्र अभ्यास गरिरहने दलतन्त्रको विकल्प क्रान्तिकारी परिवर्तनकारी दल वा विचारधारा नै हो । जनताको विश्वास गुमाएको सत्ता र शक्तिले जति रटान लगाए पनि त्यो प्रतिफलित हुँदैन ।
(विष्णु पन्थी राजनीतिक विश्लेषक हुन् ।)

प्रतिक्रिया