एनएसटीको मतगणनास्थलमा पत्रकारमाथि दुव्यवहार भएको घटनामा नेजाको आपत्ति
टेक्सास। नेपाली समाज टेक्सस (एनएसटी) को नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएपछि मतगणना सुरु हुनै लाग्दा पत्रकारहरूमाथि दुव्यवहार भएको घटनाप्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आपत्ति जनाएको छ। घटनाको करिब एक सातापछि नेजाले विज्ञप्ति जारी गर्दै पत्रकारहरूबीच भेदभाव गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
मतगणनास्थलमा नेजाका पूर्व अध्यक्ष र महासचिवसमेत रहेका पत्रकारहरूसहित समाचार संकलनका लागि खटिएका पत्रकारहरूलाई एनएसटीका केही पदाधिकारी तथा अगुवाहरूले अवरोध पु¥याउँदै बाहिर निकालिएको थियो। पत्रकारहरूलाई कसैलाई काखा, कसैलाई पाखा गर्ने गरी व्यवहार गरिएको आरोप छ। यस घटनाबारे नेपालीपेन डटकमले भिडियोसहित तत्काल समाचार प्रकाशन गरेको थियो।
मतगणनास्थलमा उपस्थित नेपालीपेनका सहकर्मी हरि सुबेदीले पत्रकारहरूमाथि भएको दुव्यवहारबारे सामाजिक सञ्जालमार्फत स्पष्ट धारणा सार्वजनिक गरेका थिए। उनको स्टाटसपछि मात्र घटनाबारे व्यापक चर्चा भएको बताइएको छ।
चुनाव सकिएपछि मतगणना सुरु हुनै लाग्दा हिमाल खबर, रिपोर्टर्स क्लब, युस खबर तथा नेजाका पूर्व महासचिवलगायत पत्रकारहरू मतगणनास्थलभित्र थिए। तर प्राविधिक कारण देखाउँदै सबै पत्रकारलाई बाहिर जान आग्रह गरियो। यस क्रममा वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पत्रकारहरूबीच केही भनाभनसमेत भएको थियो।
केही समयपछि वाग्लेले माइकिङ गर्दै चार जना पत्रकारलाई नामै लिएर भित्र बोलाए पनि उक्त सूचीमा नेजाका पूर्व महासचिवको नाम नपरेको भन्दै अपमानित महसुस भएको बताइएको छ। त्यसपश्चात सबै पत्रकारले मतगणनास्थलमा जान अस्विकार्य गरेका थिए ।
युसखबरले प्रशारण गरेको भिडियोमा पत्रकारहरूले “राष्ट्रपतिको चुनावमा भित्र बस्न पाइन्छ भने यहाँ किन नपाइने ?” भन्दै कडा प्रश्न गरेको सुन्न सकिन्छ। उता वाग्लेले भने पत्रकारहरू असन्तुष्ट भएको थाहा पाएपछि समन्वयकारी भूमिका खेलेको दाबी गरेका छन्। उनले नेजाका अध्यक्षलाई पनि भित्र बोलाइएको र झुटो प्रचार नगर्न चेतावनीसमेत दिएका छन्।
युसखबरका प्रधानसम्पादक ओम आचार्यले निर्वाचन समिति, पदाधिकारी र सदस्यहरूले मतगणनास्थलभित्र फोटो, फेसबुक लाइभ र टिकटक भिडियो बनाउन पाउने तर पत्रकारले चाहि भिडियो खिच्न अनुमति लिनुपर्ने नियम कहाँ उल्लेख छ भन्दै प्रश्न गरेका छन् ।
यसैबीच नेजाका महासचिव इश्वरी न्यौपानेले विज्ञप्ति जारी गर्दै पत्रकारहरूमाथि गरिएको भेदभावपूर्ण र अपमानजनक व्यवहारप्रति आपत्ति जनाएका छन्। उनले सामुदायिक पत्रकारिता गरिरहेका पत्रकारहरूसँग सामाजिक संघसंस्थाका जिम्मेवार व्यक्तिहरूले जिम्मेवार र सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्। नेजाले यस्ता गतिविधि पुनः नदोहो¥याउन चेतावनी दिँदै आगामी दिनमा सबै नेपाली संघसंस्थाले पत्रकारप्रति जिम्मेवारीपूर्ण व्यवहार देखाउने अपेक्षा गरेको छ।
नेपाली समाज टेक्ससमा केही दिन अघि मात्र २०२६–०२७ सम्मको नयाँ कार्यकालको लागि भर्खरै नयाँ नेतृत्व निर्वार्चीत भएका छन्, आशा गरौँ नयाँ नेतृत्वले नेपाली समाज टेक्सस र कृयासील पत्रकारलाई समेटेर अगाडी बढ्नेछ ।


