दलाल राजनीति होइन जनताको राजनीति गरौँ !
विष्णु पन्थी । आफ्नै सिद्धान्तमा लात हानेका र सत्ता चलाइसकेका पुराना भनिएका राजनीतिक दलहरूले आफूले केही खराबी नगरेको जसरी प्रस्तुत भइरहँदा उनीहरूमा लज्जा जुने त कुरा भएन तर समाजका अगुवा हौं भन्ने पत्रकार जगत्, ती पार्टिका कार्यकर्ता, कथित बुद्धिजीवी, पेशा व्यवसायीहरू समेत किञ्चित सङ्कोच नगरी यिनीहरूका कुरालाई बडो महत्त्व दिइराखेको देख्दा यी सबैको जवाफदेहिता माथि प्रश्न उठेको छ ।
कोही कसैको पनि जिम्मेवारी र जवाफदेहीता नभएको यो परिस्थितिले देश र जनतालाई ठूलै खाडलमा हाल्ने देखिन्छ । विशेष गरी पुराना र घोषित सिद्धान्तमा खरो भनिएका काँग्रेस र कम्युनिस्ट पार्टीेहरूले समाजवाद, लोकतन्त्र, विधिको शासन, पारदर्शिता र जवाफेहिता जस्ता विषयलाई आफनो सिद्धान्तको रूपमा चुनावी घोषणामा समेत उल्लेख गरेका छन् ।
यिनै कुराहरू पत्याएर, विश्वास र भरोसा हरेर जनताले मत दिएर सत्तामा समेत पुर्याए तर बोल्ने र गर्ने व्यवहार ठ्याक्कै उल्टो भयो । फलतः सत्ताबाट भागाभाग भयो ।
नेपालको राजनीतिक परिवर्तन लोककल्याणकारी राज्य व्यवस्थाका लागि नै भएको हो । यसै विषयमा चालू राजनीतिक दलले प्रतिवद्धता समेत जाहेर गरेका हुन् ।
शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभूत हक माथि बलात् आक्रमण गरेर जनताको जीविका धान्नै नसक्ने र देशमा बस्नै नसक्ने अवस्था सृजना गर्न कारक बनेका दलाल दलहरूको दलदलमा देशलाई अझै फसाइरख्ने प्रपञ्चवाट मुक्तिका निम्ति राजनीति हुनु आवश्यक छ ।
अतः घोषित सिद्धान्त र त्यसको प्रयोगको राजनितिक प्रयोजन नबुझी राजनीति नगरौं । यस्तो गर्नु भनेको नै सरासर ठगी हो ।
पन्थी प्रोफेसर हुन् ।


