तनहुँ–१ मा गोविन्द भट्टराई र दीपक भट्टराईसहित १० जनाको नाम सिफारिस
काठमाडौं,२६ मंसिर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र न १ मा प्रत्यक्षतर्फ १० जना नेताहरुको नाम सिफारिस गरिएको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व अध्यक्ष गोविन्द भट्टराई, पूर्वमहामन्त्री दीपक भट्टराईसहित १० जनाको नाम क्षेत्रिय कार्यसमितिले सिफारिस गरेको हो ।
पूर्व अध्यक्ष गोविन्द भट्टराई हाल कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी गत २०८० बैशाखमा सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनमा सोही क्षेत्रबाट कांग्रेसबाट उम्मेदवार थिए । सरल र शान्ती स्वभावका भट्टराई ‘पानी खुवाउने’ नेता र विकासप्रेमीको रुपमा जनतामाझ परिचित छन् । उनले जो कसैको पनि दुख देख्नै सक्दैनन तुरुन्त सहयोग गर्न घर–घर पुगिहाल्छन् ।
पूर्वमहामन्त्री भट्टराई त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरुको लोकप्रिय मतसहित नेविसंघको तर्फबाट स्ववियु निर्वाचनमा सभापतिमा निर्वाचित भएका थिए । हाल उनी महाधिवेशन प्रतिनिधि छन् । उनी विद्यार्थी माझ मात्रै नभइ तनहूँको समग्र विकासमा सक्रिय छन् र उनी पनि लोकप्रिय छन् । तनहुँबाट काठमाडौं अध्ययनका लागि पुग्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिलाउने, रोजगारीको व्यवस्था गर्ने, हरेक दुख सुखमा साथ दिदैं आएका छन् ।
प्रत्यक्षतर्फ महासमिति सदस्यहरू रामचन्द्र पोख्रेल, सरिता गुरूङ, महाधिवेशन प्रतिनिधि रेशम गुरूङसँगै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेललाई पनि क्षेत्रीय समितिले जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको छ ।
त्यसैगरी, समितिले नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रमेशबाबु भट्टराई, महाधिवेशन प्रतिनिधि (जनसम्पर्क समिति) पुरूषोत्तम खनाल, व्यास नगर कार्यसमितिका प्रवक्ता उद्धव पौडेल र क्षेत्रीय सभापति श्यामकुमार मौरतीलाई पनि उम्मेदवारका लागि सिफारिस गरेको छ ।
त्यस्तै,राष्ट्रिय सभा निर्वाचनका लागि ध्रुब वाग्ले,रघुनाथ पौडेल,लक्ष्मी आचार्य, डा.कृष्ण प्रसाद गौतम,अर्जुन अधिकारी,कुलचन्द्र वाग्ले र बिध्या खनालको नाम सिफारिस गरिएको छ । त्यसैगरी, क्षेत्र नम्बर १ प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक दलित तर्फ डोबाटे बि.क र यमुना बि.कको नाम सिफारिस भएको छ ।
यस्तै, समानुपातिक महिला तर्फ चिनु पोख्रेल,पबित्रा पौडेल,मिरा जोशी,चिजा श्रेष्ठ र एलिजा ढकालको नाम सिफारिस गरिएको छ भने अपाङ्ग/अल्पसंख्यक तर्फ प्रकाश पन्थ,जब्बरदिन मिया मुन्ना र सहिदा खातुनको सिफारिस गरिएको छ । अन्य तर्फ समुन्द्र गोदार र हरिदत्त पौडेलको सिफारिस गरिएको छ ।


