२६ पुस २०८२, शनिबार | January 11, 2026

भण्डारीको टिमको खुल्ला उपाध्यक्षको उम्मेदवार गुन्जन को हुन् ?


December 11, 2025
166
Shares

आगामी डिसेम्बर १३ शनिबार हुने नेपाल समाज टेक्ससको निर्वातमा जनक भण्डारीको टिमबाट खुल्ला उपाध्यक्षमा उम्मेदवारी दिएकी गुन्जन भण्डारी नेपालको सुन्दरपश्चिम, बैतडीमा जन्मिएकी एक समर्पित समाजसेवी हुन् ।

सानै उमेरदेखि बुवाको सामाजिक सेवा देखेर हुर्किएकी गुन्जनले एस.एल.सी.पछि ३ महिनाको बिदाबाटै समाजसेवाको यात्रामा पहिलो कदम राखेकी थिइन्। परिवार नियोजन संघ, रेडक्रस, स्काउटदेखि लिएर महिला, बालबालिका र युवासम्बन्धी कार्यक्रमसम्म—करिब ११ वर्ष लगातार उनी नेपालमै सक्रिय भइन्।
युएनडीपी, युनिसेफलगायत संस्थामा विभिन्न पदमा रहेर उनले देशका पूर्वदेखि पश्चिमसम्म भ्रमण गरिन्, सेवाको अनुभूति बाँडिन्।

सन् २०१६ मा अमेरिका पुगेपछि पनि उनको सेवा–यात्रा रोकिने ठाउँ रहेन। सुदूरपश्चिम नेपाली समाज टेक्सस स्थापना हुँदैदेखि नै उनको महत्वपूर्ण भूमिका रह्यो—उनी संस्थापक सदस्य पनि हुन्। अमेरिका भर्खर आएका नेपालीलाई बसोबास, काम, कागजपत्र, ड्राइभिङ लाइसेन्स—सबैमा निःस्वार्थ सहयोग गर्दै उनले धेरैलाई टेक्ससमा नयाँ जीवन सुरु गर्न सहज बनाइन्।

कसैलाई त उनले महिनौँसम्म निःशुल्क बसोबाससमेत उपलब्ध गराइन्। २०२३–२४ मा महिला संयोजक बनेपछि त उनले अझै प्रभावशाली काम गरिन्। नेपाली समाज टेक्ससमा पहिलोपटक औपचारिकरूपमा नारी दिवस मनाउने परम्परा सुरु गरिन्।
हरितालिका तीजलाई प्रवासमै भव्य रूपमा मनाउँदै नेपाली संस्कृतिको पहिचान जोगाइन्। महिला हिंसा, घरेलु हिंसा जस्ता संवेदनशील घटनामा स्थानीय प्रशासनसँग समन्वय गरेर पीडित महिलालाई न्याय दिलाउन सहयोग गरिन्।

पदमा रहेर होस् वा नरहेर, हरेक सामाजिक काममा सधैं अगाडि रहने उनको यो स्वभाव नै उनको पहिचान हो। अब, २०२५–२०२६ को कार्यकालका लागि उनले खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। अनुभव, इमानदारी र निःस्वार्थ सेवाभाव—यिनै गुणहरूले गुन्जन भण्डारीलाई समुदायले विश्वास गर्नुपर्ने एक सक्षम नेतृत्व बनाउँछ ।

 

प्रतिक्रिया