भट्टराई, शर्मा र परियार नेतृत्वका पार्टीहरुको आज एकता हुँदै
काठमाडौँ, ७ कात्तिक । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वका पार्टीहरुले आज एकता सभाको आयोजना गरेका छन् ।
एकता सभा राष्ट्रिय सभागृह काठमाडौँमा दिउँसो १२ः३० बजे हुनेछ । भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहको एकता सभा हुन लागेको हो ।
आजको सभाको अध्यक्षता सन्तोष परियारले गर्ने बताइएको छ । उनीहरुबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो ।
तीन पक्ष मिलेपछिको पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी हुने र पार्टी संरक्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रहने छन् भने माओवादी पूर्व उपमहासचिव जनार्दन शर्मा पार्टीको कार्यकारी भूमिकामा रहने छन् । पार्टीको चुनाव चिहृन आँखा हुने छ । दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।


