सुशीला कार्कीको नियुक्ति खारेजी र संसद पुनःस्थापनाको माग गर्दै अधिवक्ता किर्तिनाथ शर्मासहितले गरे रिट दर्ता
काठमाडौं, ११ कात्तिक । सुशिला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति खारेजी र संसद पुनःस्थापनको माग गर्दै अधिवक्ता किर्तिनाथ शर्मासहितले रिट दर्ता गरेका छन् । मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको रिटमा राष्ट्रपतिले संविधान विपरित गैर सांसदलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्य असंवैधानिक भन्दै खारेजीको माग गरिएको छ ।
रिट दर्तालगत्तै बुधबार सुनुवाईका लागि बोलाइएको छ । अधिवक्ता किर्तिनाथ शर्माका अलावा निराजन पौडेल, विष्णुप्रसाद अर्याल, देवी प्रसाद रिजाल र चक्रबहादुर थापाले दायर गरेको रिटमा राष्ट्रपतिले सुशीला कार्कीको सिफारिशमा संसद विघटन गर्नुलाई असंवैधानिक भनिएको छ ।
अधिवक्ता किर्तिनाथ शर्माले सुशीला कार्कीको नियुक्ति संविधान विपरित भएको जिकिर गरे । संविधान विपरित कार्कीको नियुक्ति भएकाले उनले सिफारिश गरेर संसद विघटन गर्नु घोर असंवैधानिक हुने उनको भनाई छ ।
वर्तमान सरकार असंवैधानिक भएकाले दीर्घकालिन असर पर्ने खालका कुनै पनि कार्य गर्न नगराउन अन्तरिम आदेश जारीको माग समेत रिटमा गरिएको छ ।


