यस्तालाई जनप्रतिनिधि कसरी भन्ने ?
प्रो.विष्णु पन्थी । जनताका प्रतिनिधि हौं भन्ने राजनीतिक दलहरूले जनताबाट निर्वाचित सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधि सभा र जननिर्वाचित सरकार अपदस्थ हुँदा ती दलहरूले यो अवस्था स्वीकार गर्नुको मतलब उनीहरू वास्तविक रूपमा जनताका प्रतिनिधि होइनन् भन्ने पुष्टि भएको वर्तमान सन्दर्भमा राजनीति र जनताका कुरा गर्नु या कुरा उठाउनु भनेको कुरा गरे जस्तो र कुरा उठाएजस्तो मात्रै हो । यो बुझ्न कुनै पनि सामान्य सेन्स भएको मानिसलाई अप्ठ्यारो छैन ।
अतः ती ती पार्टीेका कथित नेता वा कार्यकर्तालाई जनताले विश्वास गर्ने ठाउँ कहीँ कतै देखिएको छैन । हाल प्रतिबन्धित नभएका ती दलका गतिविधि, हुङ्कार र आपसी दाउपेच देख्दा जनतालाई कति पट्यार लाग्छ होला १ यस्ता दलका दलेहरूले दैनिक जसो यस्ता गतिविधि कृपापूर्वक नगरिदिए समाज कति शान्त हुन्थ्यो होला ?
‘नैतिकता सकियो भने भगवानको पनि शक्ति सकिन्छ ।’ भन्ने भनाई छ । मन, वचन र कर्ममा एकरूपता नभएपछि कसरी छलछाम गर्न सकिन्छ भन्ने प्रपञ्चमा मात्र मानिस घेरिएको हुन्छ । पार्टीका घोषित सिद्धान्त प्रति देखावटी स्वाङ पार्ने र जनताको आँखामा छारो हाल्ने धन्दा नै केही बर्षदेखि दलको काम बन्दै गाएको देखियो । लोककल्याण, अभ्रष्ट्राचार र सुशासन जस्ता विषयमाथि मजाक उडाउँदै घोर पाखण्ड र घमण्डको घोडा सवार दलहरू आज पनि त्यहाँबाट ओर्लिएका छैनन् । जनता भ्रममा नपरी आफ्नो भविष्य खोज्दा कल्याण देखिन्छ ।


