संगै मदिरा पिएका साथीहरुले युवकको टाउको लिएर प्रहरी कार्यालयमा पुगपछि…

धनगढी,२५ असोज । कैलालीमा एक युवकको घाँटी रेटी बीभत्स हत्या गरिएको छ । घोडाघोडी नगरपालिका–८ मा गएराति २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर २ जना युवक प्रहरी चौकी पुगेका थिए ।
दुबै युवाहरु बुढाको घाँटी रेटी टाउको छुट्याएपछि टाउको बोकेर आफैं इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकीमा पुगेका थिए । प्रहरीका अनुसार टाउको बिनाको शरीर घटनास्थल मै छ ।
हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री पक्राउ परेका छन् । मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा संगै बसेर मदिरा सेवन गरेका थिए ।
सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए । उनीहरूबीच पहिले चिनजान रहेको प्रहरीले जनाएको छ ।