२४ आश्विन २०८२, शुक्रबार | October 10, 2025

संचारविहीन नेतृत्व अन्धकारमा हिँड्ने मान्छेजस्तै हो !


October 10, 2025
664
Shares

विश्वासको पुनर्निर्माण : नेतृत्व र संचारको शक्ति

समाजमा जब चरम अविश्वास, भय र त्रासको वातावरण सिर्जना हुन्छ, त्यतिबेला सबैभन्दा ठूलो प्रश्न उठ्छ—विश्वास कसरी पुनःस्थापित गर्ने ?
राजनीति, प्रशासन वा सामाजिक जीवन—जुनसुकै सन्दर्भमा लिए पनि यस्तो संकटको घडीमा नेतृत्वकै जिम्मेवारी सबैभन्दा बढी हुन्छ।

विश्वासको वातावरण निर्माण गरी नागरिकलाई आश्वस्त पार्नु नेतृत्वको पहिलो र प्रमुख दायित्व हो।तर, विश्वास केवल घोषणाले होइन, अर्थपूर्ण संवाद र व्यवहारिक प्रत्याभूति मार्फत बन्छ।

नागरिकसँग प्रत्यक्ष संवाद गरी अभिभावकको भूमिकामा रहेको अनुभूति दिलाउन सक्ने व्यक्ति नै साँचो अर्थमा नेतृत्व हो।
यस्तो संवादका तीन आधार स्तम्भ हुनुपर्छ—पारदर्शिता, समानुभूति र उत्तरदायित्व।

नेतृत्व केवल निर्णय लिने वा निर्देशन दिने क्षमतामा सीमित हुनु हुँदैन।
वास्तवमा, नेतृत्वको मर्म नै प्रभावकारी संचारमा निहित हुन्छ।

विचार, दृष्टि र नीति नागरिकमा स्पष्ट रूपमा सम्प्रेषण गर्न सक्ने क्षमताबिना कुनै पनि नेतृत्वले दीर्घकालीन विश्वास निर्माण गर्न सक्दैन।
नेपालको राजनीतिक इतिहासले पनि यस कुराको बारम्बार पुष्टि गरेको छ।

मुल नेताको प्रिय बन्ने र नजिकिने प्रतिस्पर्धाले आशालाग्दा व्यक्तिहरु र जनताबीचको सही संवादको ढोका बन्द गर्‍यो,र त्यहीँबाट अविश्वासको बीउ रोपियो।यस्ता व्यवहारले पार्टीलाई मजबुत बनाउने होइन, उल्टै द्वन्द्व चर्काउने उत्प्रेरकको काम गरेको छ।

राजनीतिक संक्रमणको कठिन समयमा सीमित समयभित्र जिम्मेवारी पूरा गर्न प्रभावकारी संचार अपरिहार्य हुन्छ।
जनतासँग समन्वय, स्पष्ट सन्देश र संवाद–केन्द्रित दृष्टिकोण अपनाएर मात्र नेतृत्वले आफ्नो राजनीतिक धर्म पूरा गर्न सक्छ।

संकटको समयमा जनविश्वास पुनःस्थापना गर्नु नेतृत्वको सबैभन्दा चुनौतीपूर्ण कार्य हो।
यसका लागि नेतृत्वमा दूरदृष्टि, सहनशीलता र उच्च संचार सीप आवश्यक हुन्छ।

अत: संचारविहीन नेतृत्व अन्धकारमा हिँड्ने मान्छेजस्तै हो
न आफूले बाटो देख्छ, न अरूलाई देखाउन सक्छ।
ऋषभ भट्टराई, बैंकर तथा आर्थिक विश्लेषक

प्रतिक्रिया