एनभिएको एनआइएमबी बैंकविरुद्धको आन्दोलन स्थगित,वार्ताद्धारा समस्या समाधान गर्ने सहमति

काटमाडौं,२८ साउन । सम्पत्ति मुल्यांकनकर्ताहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंक बिरुद्ध आन्दोलनका कार्यक्रम स्थगित गरेर काम सुचारु गरेको छ ।
बैंकले बिना कारण मुल्यांकनकर्ता इन्जिनियरहरुलाई कारबाही प्रक्रिया अघि नबढाउने, कारबाही गरिएको भए फुकुवा गर्ने र वार्ताद्धारा समस्या समाधान गर्ने सहमति जनाएपछि हाललाई आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगन गर्दै मुल्यांकनको काम सुचारु गर्ने निर्णय गरिएको अध्यक्ष ई.संजय कुमार महतोले जानकारी दिए ।
एनभिएका जायज मागहरु सम्बोधन नभए आगामी असोज १ गतेदेखि शसक्त रुपमा आन्दोलन अघि बढाउने पनि महतोले चेतावनी दिएका छन् ।
एनआइएमबी बैंक र नेपाल बैंकर्स एशोसिएसनको पत्रलाई स्वागत गर्दै गत साउन २२ गतेदेखि देशभरीका सम्पुर्ण शाखा कार्यालयमा सम्पुर्ण धितो मुल्यांकनको कार्य रोक्ने काम यथावत राख्दै धर्ना,जुलुस,पत्रकार सम्मेलन लगायतका पूर्व निर्धारित आन्दोलनका कार्यक्रम र दोस्रो चरणको आन्दोलन घोषणा कार्यक्रम एनभिएले स्थगित गरेको थियो ।
आगामी भदौ १ गतेदेखि बैंकले आन्दोलनरत एनभिएलाई वार्ता तथा संवादका लागि बोलाउने तयारी गरेको बुझिएको छ ।
संस्थाले गत साउन १२ गतेदेखि पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै देशभरका एनआइएमबी बैंकका शाखा कार्यालयहरुमा काम ठप्प पारेर आन्दोलनमा उत्रिएको थियो । देशभरका इन्जिनियरिङ्ग संघसंस्थाहरुले एनआएइमबी बैंकविरुद्धको एनभिएको आन्दोलनप्रति संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै ऐक्यवद्धता जनाएका थिए ।