२८ श्रावण २०८२, मंगलबार | August 12, 2025

लामापक्षको बार्गेनिङले इन्द्र बानियाँलाई के होला ?


August 12, 2025
664
Shares

काठमाडौं,२७ साउन । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आज विश्वासको मत लिने तयारी गरेका छन् । काठमाडौं बसेर पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा पक्षले भने मन्त्री पदका लागि बार्गेनिङ गर्दै अफ्ठेरो बनाइरहेको छ ।

लामा पक्षले आफ्ना ३ मन्त्रीलाई नियुक्त नगरेसम्म बानियाँलाई विश्वासको मत नदिने अडान लिइरहेको छ ।

बानियाँले आजै २ बजे संसदीय दलको बैठक बोलाएका छन् भने साझ ४ बजे विश्वासको मत लिने तयारीका साथ प्रदेश सभाको बैठक बोलाएका छन् । यो समयलाई मौका छोपेर लामा समुहले सभापति शेरबहादुर देउवाको निर्देशनलाई समेत लत्याएर अडान कसेको छ । लामा पक्षका सांसदहरु अहिलेसम्म काठमाडौंमै बसेर बार्गेनिङ गरिरहेका छन् । लामा पक्ष १४ सांसद छन् ।

देउवाले लामा समुहलाई बानियाँलाई विश्वासको मत दिन निर्देशन दिएका छन् भने त्यसपछि मन्त्री नियुक्त गर्न आफुले बानियाँलाई भन्ने बताएको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री बानियाँले भने पहिला विश्वासको मत लिएर पछि मन्त्रालयको बाँडफाँट गर्ने बताइरहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको हो।

११० सदस्यीय प्रदेशसभामा बहुमत पाउन ५६ सांसदले बानियाँलाई विश्वासको मत दिनुपर्छ। कांग्रेसका ३७ र एमालेका २७ गरी उनका पक्षमा ६४ सांसद हुनुपर्ने हो । तर, लामाको समूहमा १४ सांसद छन् । उनीहरूले विश्वासको मत नदिएमा बहुमत पाउन सक्ने अवस्था छैन ।

प्रतिक्रिया