हार नखाइकन सङ्घर्ष गर्नेहरु एकदिन सफलतामा पुग्छन् : प्रधानमन्त्री ओली

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
अनलाइनखबर डटकमद्वारा आयोजित ‘चालीस मुनीका चालीस’ युवालाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्रताका साथ सम्पन्नता हासिल गर्दै मानवीय गुणवत्तामा पनि अग्रता लिने विश्वास व्यक्त गर्नुभयो ।
“युवाहरुले आफ्नो रुचि र प्रतिभालाई चिन्न सक्नुपर्छ । सङ्घर्ष गर्नुपरे पनि सहेर हार नखाइकन काम गर्नुपर्छ । एकदिन सफलतामा पुगिन्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुनियाँमा मान्छेहरुले नयाँ नयाँ सुरुवात युवा अवस्थामै गरेका छन् । त्यसपछि क्रमशः आफ्नो क्षेत्रमाा श्रेष्ठता हासिल गर्दै गएका छन् । सामाजिक जीवनका सबै क्षेत्रमा हामीलाई प्रतिभा चाहिन्छ । धेरै योग्य युवामध्येबाट छानिएका तपाईँहरुले भविष्य अझ ठुल्ठुला सफलता प्राप्तितर्फ अगाडि बढ्दै जावोस् ।”
प्रधानमन्त्री ओलीले प्राकृतिकरुपमा उर्बर र ज्ञानभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण नभए नभए पनि पछाडि पर्न गएकामा अब समृद्धिका लागि सबै मिलेर केही गर्ने समय आएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “म केही गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ । निराशाको बादल छाडेर उत्साह र आशामा लागेका युवाहरु छनोट गर्नु निकै कठिन काम हो । म तपाईँहरुलाई बधाई भन्न चाहान्छु । मेरो भनाइ यत्ति हो, युवाहरुले आफूभित्र घमण्ड पस्न दिन हुँदैन । हरेक मान्छेले आफ्नो आचरण, महेनत र गुणवत्ताको सम्भावनालाई पहिल्याउनुपर्छ ।”