दिनेश र महेशको साँठगाँठमा लाहनमा प्राकृतिक स्रोतको दोहन, ब्रम्हलुटविरुद्ध उजूरीको चाङ

सिराहा, ७ साउन । लाहन नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश महतोसँगको साँठगाँठमा चुरे ध्वस्त पार्ने गतिविधिमा लागेको खुलेको छ । विदेशी कम्पनीले रोडाढुंगा उत्खनन गरिरहेको र राज्यलाई नोक्शानी पुर्याएर लाभ लिइरहेको खुलेको हो ।
स्थानीयहरुले महेश चौधरीले ठूलो भ्रष्टाचार गरेर प्राकृतिक स्रोतको दोहन गर्न लगाएको बताए । उनीहरुले ब्रम्हलुट हुँदा पनि राज्यको नियमनकारी निकायले आँखा चिम्लिएको भन्दै असन्तुष्टि व्यक्त गरे । सिराहा जिल्ला समन्वय समिति अध्यक्ष दिनेश महतो र लाहनका मेयर महेश चौधरीको साँठगाँठलाई प्राकृतिक स्रोत दोहन र अकुत सम्पत्ति जोहोको भित्री योजनासँग जोडेर हेरिएको छ ।
लाहनका बासिन्दाले ढुंगागिट्टीको खेल कसरी भइरहेको देखाए । ढुंगागिट्टी उत्खनन नियमविपरित गरेको खुलाए । यो तथ्यलाई लाहनका उपमेयर राम चलितर महतोले सप्रमाण खुलाएका छन् ।
महतोका अनुसार चाइना रेलवे कम्पनीसँग मिलेर नगरपालिकाभित्र प्राकृतिक स्रोतको चरम दोहन चलिरहेको छ । यसमा मेयर महेश प्रसाद चौधरीको प्रत्यक्ष भूमिका रहेको र चाइना रेलवे कम्पनीसँग भएर नदीजन्य पद्धार्थ उत्खनन गराइरहेको समेत बताए । चौधरीले छोरालाई नै ठेक्कापट्टामा सक्रिय बनाएको बताए ।
नदीजन्य पद्धार्थको दोहन र भ्रष्टाचारले लाहन नै बदनाम हुन थालेपछि स्थानीय गम्भीर भएका छन् । उपमेयर महतोले नै अख्तियारमा उजूरी हालेका छन् । विभिन्न उजूरीहरुको चाङ अख्तियार देखि विभिन्न नियमनकारी निकायमा पुगिसकेको छ ।