३ श्रावण २०८२, शुक्रबार | July 18, 2025

२०८४ को निर्वाचनमा कांग्रेसको बहुमतका लागि रामशरण गिरीको यस्ता छन् सुझाव


166
Shares

काठमाडौं,२ साउन । नेपाली कांग्रेसका नेता रामशरण गिरीले २०८४ सालको निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउनका लागि पाँच बुँदे रणनीति सार्वजनिक गरेका छन्। उनले संगठन सुदृढीकरणदेखि सुशासन र सामाजिक न्यायसम्मका विषयमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

गिरीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा अनुसार, पार्टीले स्थानीय तहदेखि केन्द्रसम्म संगठनलाई बलियो र चुस्त बनाउन, कार्यकर्तालाई प्रशिक्षण र परिचालनमा ल्याउनुपर्ने बताएका छन्। उनका अनुसार, निष्क्रिय समिति र भ्रातृ संगठनहरूलाई पुनर्जीवित गर्नुका साथै युवा र महिलालाई निर्णायक भूमिकामा ल्याउनुपर्ने आवश्यकता छ।

संगठन सुदृढीकरण र कार्यकर्ता परिचालन

गिरीका अनुसार, पार्टीको संगठनात्मक कमजोरी र कार्यकर्तामा अनुशासनको कमीले विगतका चुनावमा प्रभाव पारेको छ। अब संगठनको पुनर्संरचना गरी कार्यकर्तालाई नीतिगत रुपमा प्रशिक्षित गरिनु पर्छ।

युवा र महिलालाई नेतृत्व तहमा समेट्दै उनीहरूको क्षमता विकासमा जोड दिनुपर्ने गिरीको धारणा छ। उनले भने, ूअबको कांग्रेसमा युवाहरू निर्णायक शक्ति हुनुपर्छ, महिलाको सहभागिता निर्णायक बन्नुपर्छ।

जनसम्पर्क र जनविश्वास

गिरीले महँगी, बेरोजगारी, भ्रष्टाचार, स्वास्थ्य र शिक्षा लगायतका जनजीविकाका सवाललाई पार्टीको एजेन्डाको प्राथमिकतामा राख्न सुझाएका छन्। ूभ्रष्टाचार विरुद्ध कडा प्रतिबद्धता जनाएर मात्र जनविश्वास आउँछ,ू गिरीले लेखेका छन्।

उनले कांग्रेसले सरकारमा रहँदा सुशासन, पारदर्शिता र जवाफदेहितामा आफ्नो पहिचान बनाउनुपर्ने तर्क गरेका छन्। साथै मिडिया र सामाजिक सञ्जालको अधिकतम सदुपयोग गरी पार्टीको सकारात्मक पक्ष उजागर गर्नु जरुरी रहेको उनको भनाइ छ।

आर्थिक विकास र समृद्धिको खाका

गिरीले स्पष्ट र व्यावहारिक आर्थिक नीति ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। ूरोजगारी सिर्जना, लगानी प्रवर्द्धन र गरिबी न्यूनीकरण कांग्रेसको मुख्य आर्थिक एजेन्डा बन्नुपर्छ।

उनले कृषि क्षेत्रको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकासमा कांग्रेसको योजनाले समृद्धिको मार्ग देखाउनुपर्ने बताएका छन्।

समावेशी प्रतिनिधित्व र सामाजिक न्याय

नेता गिरीले कांग्रेसभित्रै सबै वर्ग, जात, क्षेत्र, लिङ्ग र समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेका छन्। सीमान्तकृत समुदाय, दलित, जनजाति, मधेसी, मुस्लिम र पिछडिएको वर्गको उत्थानमा विशेष कार्यक्रम ल्याउन सुझाव दिएका छन्।

उनको भनाइमा, शिक्षा र स्वास्थ्यमा समान पहुँच नदिई सामाजिक न्याय सम्भव हुँदैन। त्यसैले कांग्रेसको भावी नीति त्यसैअनुसार तयार गर्नुपर्छ।

गठबन्धन व्यवस्थापन र नयाँ नेतृत्व

यदि गठबन्धनमा जाने हो भने दलहरूबीचको सहकार्य, सिट बाँडफाँट र साझा एजेन्डामा स्पष्टता र पारदर्शिता आवश्यक रहेको गिरीको धारणा छ।

उनले पार्टी भित्र नयाँ नेतृत्व विकास र हस्तान्तरणलाई सहज बनाउनुपर्नेमा पनि जोड दिएका छन्। युवा नेताहरूलाई जिम्मेवारी र अवसर दिँदा मात्र पार्टीले दीर्घकालीन शक्ति संचित गर्छ, उनले भनेका छन्।

नेता गिरीले प्रस्ताव गरेको यो पाँच बुँदे सुझाव कांग्रेसभित्र गम्भीर छलफल र कार्यान्वयन योग्य विषयहरू हुन्। स्थानीयदेखि केन्द्रसम्म संगठन, सुशासन, आर्थिक नीति, समावेशीकरण र नेतृत्व विकासमा पार्टीले अब ध्यान नदिए आगामी निर्वाचनमा बहुमतको सपना अधुरो हुने गिरीको संकेत छ।

प्रतिक्रिया