तीन क्रिकेटरले भारतमा विशेष प्रशिक्षण लिने, राजदूत श्रीवास्तवले भेटेर दिए शुभकामना

काठमाडौं, २७ असार । नेपालको क्रिकेट विकासमा भारतले सहयोग बढाउँदै लगेको छ । नेपाली खेलाडीहरुलाई भारतले फेलोशिप प्रदान गरी विशेष प्रशिक्षणको वातावरण समेत मिलाएको छ ।
नेपाली यु १९ क्रिकेट टोलीका तीन खेलाडीले भारतको भोपालमा निःशुल्क व्यवसायिक प्रशिक्षण लिने अवसर पाएका छन् । ती खेलाडीमा नरेन भट्ट, साहिल पटेल र पूजा महतो छन् । उनीहरु भारतीय राजदूतावासले घोषणा गरेको एम्बेसेडर क्रिकेट फेलोशिप फर नेपाली युथ नाम दिइएको फेलोशिप अन्तर्गत जान लागेका हुन् । तीनैजनालाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार भेटेका छन् । उनले खेलाडीहरुलाई सफलताको शुभकामना पनि व्यक्त गरेका छन् ।
नेपाली खेलाडीहरु भारतको लालबहादुर शास्त्री क्रिकेट शालामा १७ जुलाई देखि १४ जुलाईबीच प्रशिक्षण लिनेछन् । फेलोशिप पाएकामा दुई पुरुष र एक महिला खेलाडी छन् ।
भारतमा क्रिकेटको विशेष क्रेज छ । आइपिएल क्रिकेटको सर्वाधिक महङ्गो र लोकप्रीय लिग हो । आइपिएलमा नेपालबाट सन्दीप लामिछाने खेलिसकेका छन् ।
छिमेकी भारतमा क्रिकेटको क्रेज र सम्भावना छ । नेपाली क्रिकेट खेलाडीका लागि भारतको प्रशिक्षणले विश्व स्तरको प्रतिष्पर्धामा अझ अब्बल बनाउने सम्भावना रहन्छ ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले भारतमा प्रशिक्षण लिन जान लागेका खेलाडीलाई शुभकामना व्यक्त गरे ।
नेपाल र भारतबीचको सम्बन्ध खेलकूद क्षेत्रमा सहयोग आदानप्रदानले अझ विकसित बनाउने विश्वास लिइएको छ । नेपाली युवा खेलाडीलाई भारतको महत्वपूर्ण लिगमा अनुबन्धित हुने वातावरण विकास हुन थालेको कदमका रुपमा पनि यसलाई बुझिएको छ ।