१९ असार २०८२, बिहिबार | July 3, 2025

गुट–उपगुटले बिग्रिएको तरुण दल


3.8k
Shares

संजिब गुरुङ्ग । २०१० साल कार्तिक १० गते स्थापित नेपाल तरुण दल नेपाली काङ्ग्रेस संगठनको भातृ संगठन नभई एक साथी संगठन पनि थियो । सो समयको वास्तविक परिस्थितिलाई मध्यनजर गर्दै स्थापित नेपाल तरुण दल युवाहरूको पहिचान युवाहरूको स्वाभिमान थियो जुन महानायक बीपी कोइरालाको विचार र पहिचान हो ।

२०१० सालमा महानायक बीपी कोइरालाको संरक्षणमा सिंहध्वज खड्काले यसको नेतृत्व गरेका थिए । जुन समयमा स्थापित तरुण दल यसले गरेको काम युवा पुस्तालाई समाजमा मात्र नभएर विश्वव्यापी रूपमा चिनाउन गरेको योगदान समय परिस्थिति अनुसार पार्टीमा कुविचार राख्ने होस् या देशमा अनावश्यक दङ्गा भड्काउने विदेशी हस्तक्षेपसँग जुध्दै २००७ सालमा स्थापित प्रजातन्त्रलाई जोगाउदै सिङ्गो नेपाली कांग्रेसपार्टी र महानायक विपी कोइरालाको विचारको संरक्षण गर्दै सशक्त ढङ्गको संगठन आज २०८२ सालसम्म स्थापित छ ।

सिंहध्वज खड्काको नेतृत्वपछि समय अनुकूल पटकपटक नेतृत्व परिवर्तन हुँदै बालकृष्ण खाड महेन्द्र यादव उदय शमशेर राणा हुँदै जिजजंग बस्नेत र अहिले विद्वान गुरुङको नेतृत्वमा तरुण दल संगठन चलायमान छ । समय सँगसँगै कहिले चुनावी प्रतिस्पर्धाबाट कहिले चाकडीबाट नेतृत्व चयन भएको देखिन्छ। वर्तमान अध्यक्षभन्दा अगाडि जितजङ बस्नेतको नेतृत्वमा रहेको तरुण दलले केन्द्रीय कार्यसमिति विस्तार गर्न नसकी नयाँ नेतृत्व आएको तरुण दल हाल ४०० जनाको सङ्ख्यामा वर्तमान अध्यक्ष लगायत पार्टीका जिम्मेवार नेताहरूले आफूले आफ्नो अनुकूलताको लागि केन्द्रीय सदस्यहरू मनोनित गरेको सत्य हो।

२०८२ सालमा आइपुग्दा नेपाल तरुण दल महानायक बीपी कोइरालाको त्यो विचार त्यो योगदानलाई बिर्सिएर आफू अनुकूल र आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनेको छ। संगठनमा आफूले हालीमुहाली गर्न नपाउँदा आफू अनुकूल संगठन नचल्दा४०० जना केन्द्रीय सदस्यमा ४० वटा गुट उपगुट आआफ्नै ढंगले कुद्न व्यस्त देखिन्छ। युवाहरूको पहिचान युवाहरूको क्षमता – स्वयं आफ्नै क्षमता बिर्सिएर एक–अर्काको चियापसलको उक्साहटमा सिङ्गो संगठनलाई नै बदनाम गर्ने गरी तछाड र मछाडको स्वार्थीय युद्धमा तरुण दलकै केही साथीहरू कुदेको सत्य हो।

यसको ज्वलन्त उदाहरण आज पार्टी कार्यालयमा प्रत्यक्ष देख्न सकिन्छ। तरुण साथीहरुले नबुझेको महानायक बीपी कोइरालाको विचार हो। तरुण दल आफैमा बलियो र दरिलो संगठन हो यो नीतिमा चल्छ विचारमा चल्छ विधिमा चल्छ यो कसैको इशारामा स्वार्थ पूरा गर्नको लागि चल्ने संगठन होइन। आज केही स्वार्थ पूरा गर्ने गतिमा चल्दा सिङ्गो नेपाली कांग्रेस पार्टी र सम्पूर्ण भातृ संगठनहरू समाजमा बदनाम कमाउन व्यस्त देखिन्छ।

युवा पुस्ताले एकले अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्दा मै हुँ भन्ने दम्ब र घमण्ड ले गर्दा आज नेपाल तरुण दलको इतिहास मेटाउने बाटोमा हामी नै छौं। आज वर्तमान कार्यसमितिले काम गर्नै नसक्दा नेतृत्वमा बस्ने विद्वान गुरुङको मात्र नभएर सम्पूर्ण अध्यक्ष सहित ४०० जनाको जिम्मेवारीमाथि प्रश्न चिन्ह खडा भएको छ। हाम्रो क्षमतामाथि प्रश्न चिन्ह खडा भएको छ। यसलाई बुझ्ने कोसिस गर्ने या नगर्ने आज गुट र उपगुट बनाएर क्षणिक स्वार्थ त पूरा होला त्यो इतिहास मेटिनेछ आज भएको संगठन भङ्ग हुँदै गर्दा फेरि अर्को बन्न डेढ वर्ष पक्कै लाग्नेछ।

फेरि तेरो र मेरो भनेर घरका नोकर चाकर भर्ना गर्दै गर्दा फेरि अर्को डेढ वर्ष लाग्ने नै छ। यसरी आफ्नो भर्ती गर्दागर्दै अर्को तीन वर्ष बितेको फेरि पत्तो पाउने छैन। यसबाट वडा तहदेखि केन्द्रसम्म नयाँ युवा पुस्ताले परिवर्तनको महसुस गर्ने छैन। नयाँ पुस्तामा राजनीतिक पुस्तान्तरण हुने छैन। यसले सम्पूर्ण राजनीति गर्छु भन्नेयुवा पुस्तामा बन्देज लाग्नेछ फेरि पनि उही पुरानै संस्कारको हावी हुनेछ केही गर्छु भन्ने युवा पुस्ता सपना किन्न विदेशिनुपर्नेछ।

देशमा बस्ने युवाहरू डरमा बस्नुपर्नेछ। अब सचेत हुने कि सम्पूर्ण गुट उपगुटलाई अन्त्य गरी नेपाल तरुण दलको गौरवमय इतिहासलाई बचाउने या नबचाउने हामीमै जिम्मेवारी दिएको छ कसले के गर्यो र कसले के गर्नेछ मलाई थाहा छैन। हामी सबै जुट्यौ भने हामी सबै मिल्यो भने अधिवेशन हुनेछ हामी सम्पूर्ण ४०१ जनाकै पहिचान बन्नेछ यो गर्व गर्न लायकको बन्नेछ नत्र इतिहासमै नालायक केही गर्न नसक्ने तरुणको रुपमा हामी नै चिन्नेछौ चेतना होस !जय होस् जय तरुण
(लेखक गुरुङ्ग तरुणदलका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया