९ असार २०८२, सोमबार | June 24, 2025

वनमन्त्रीको पहलमा मुगुमा ऐतिहासिक बजेट : एकै वडामा १० करोड


1.7k
Shares

९ असार, मुगु । मुगु जिल्ला कर्णाली प्रदेशको दुर्गम र पछाडि परेको क्षेत्रका रूपमा चिनिन्छ। तर, पहिलोपटक संघीय सरकारमा प्रतिनिधित्व पाएसँगै जिल्लामा विकासको आशा बढेको छ। यसपटक मुगुबाट निर्वाचित क्याबिनेट मन्त्री ऐन बहादुर शाहीको पहलमा संघीय सरकारबाट ऐतिहासिक बजेट विनियोजन भएको छ।

आर्थिक वर्ष २०८२र०८३ मा मुगु जिल्लाका लागि करिब ५ अर्ब ५७ करोड रुपैयाँ बजेट संघीय सरकारबाट विनियोजन गरिएको छ। अघिल्लो वर्ष २०८१र०८२ मा जम्मा १ अर्ब ८० करोड बजेट आएको थियो।

मुगुको सोरु गाउँपालिका–१०, धैनमा मात्र १० करोड रुपैयाँ बजेट विनियोजन भएको स्थानीय युवा नेता रत्नलाल देवकोटाले जानकारी दिए। उनका अनुसार, “पहिला १०–२० लाख बजेट आउँथ्यो, अधिकतम १ करोडसम्म पुग्थ्यो। तर यसपटक वन तथा वातावरण मन्त्री मा। ऐन बहादुर शाहीज्यूको विशेष पहलमा १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ,” उनले भने।

उनले थपे, “यो बजेट विभिन्न संस्थागत योजना र पूर्वाधार विकासका लागि ल्याइएको हो। व्यक्तिगत लाभभन्दा बाहिर गएर यस क्षेत्रको समग्र विकासका लागि बजेट सदुपयोग गर्न हामी प्रतिबद्ध छौँ।”

यद्यपि, केही क्षेत्रहरुमा बजेट छुटेको बताउँदै देवकोटाले आगामी दिनमा ती क्षेत्रमा पनि बजेट विनियोजनको पहल गर्ने बताए।

स्थानीयवासीहरू यो वर्षको बजेटले खुसी व्यक्त गर्दै मन्त्री शाहीप्रति आभार प्रकट गरेका छन्। यसरी तुलनात्मक रूपमा हेर्दा मुगु जिल्लाले यस पटक ठूलो बजेट पाएको र त्यसको उचित सदुपयोग हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया