२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कसले चलायो विद्यालयको स्टाफ रुममा गोली ?


0
Shares

एजेन्सी, २२ वैशाख । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको खुर्रम जिल्लामा बिहीबार भएको गोलीकाण्डमा ७ शिक्षकको मृत्यु भएको छ । गोलीबारीको यो घटना आतंकवादीले गराएको हो वा आपसी शत्रुताको विषय हो भन्ने कुरा अहिलेसम्म स्पष्ट नभएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

सोही क्षेत्रमा गोली प्रहारको अर्को घटना पनि भएको छ । यसमा दुई शिक्षकको पनि मृत्यु भएको छ । दुवै घटना ६ किलोमिटरको दायराभित्र भएका हुन् ।

यसबाहेक खैबरमा पनि आतंकवादी हमला भएको थियो । यस घटनामा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले पाकिस्तानी सेनाका ६ सैनिकको हत्या गरेको थियो। दुवै आक्रमणको जिम्मेवारी कसैले लिएको छैन र आक्रमणकारीको बारेमा कुनै सुराग भेटिएको छैन।

समाचार एजेन्सीका अनुसार शिक्षकमाथि हमलाको घटना खुर्रम जिल्लाको टेरी मंगल हाई स्कूलमा भएको हो। शिक्षकहरू यहाँ स्टाफ रुममा परीक्षाका प्रश्नपत्रहरूको सेट तयार गर्दै थिए। आगामी सातादेखि यहाँ सुरु हुने परीक्षा रद्द भएको छ ।

यसैबीच कारमा सवार केही आक्रमणकारी त्यहाँ पुगेका थिए । विद्यालयबाहिर ब्यारिकेड लगाएका थिए भने प्रहरी पनि थिए । आक्रमणकारीहरू ब्यारिकेड तोडेर विद्यालयभित्र पसेर सिधै स्टाफ रुममा पुगेका थिए । त्यहाँ पुग्नेबित्तिकै फायरिङ सुरु भयो । सबै ७ शिक्षक मारिए। त्यसपछि आक्रमणकारीहरू सोही कारमा भागेका थिए ।

केही समयपछि प्रहरी पुगेर क्षेत्र सिल गरेको थियो । अहिलेसम्म आक्रमणकारीको कुनै सुराग फेला परेको छैन । केही मिडिया रिपोर्टहरूले यो मामिला शिया–सुन्नी विवादसँग सम्बन्धित रहेको बताएका छन्। मारिने सबै शिक्षक शिया समुदायका थिए भन्ने पनि बताइएको छ । यद्यपि यो पुष्टि हुन सकेको छैन।

राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गरेका छन् । यस हाईस्कुलबाट करिब ६ किलोमिटर टाढा मोटरसाइकलमा जाँदै गरेका थप दुई शिक्षकमाथि पनि गोली प्रहार भएको थियो । दुवैको घटनास्थलमै मृत्यु भयो । दुवै माध्यमिक विद्यालयका शिक्षक थिए । शिक्षकमाथि भएका दुई आक्रमणबीच के सम्बन्ध छ भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया