इरानसँगको युद्धमा अमेरिका पनि होमिनसक्ने

एजेन्सी, १ असार । इजरायलले इरानमाथि खतरनाक हमला गरेपछि मध्यपूर्व तनावग्रस्त छ । इरानले पनि बदलामा इजरायलमाथि हमला गरेको छ । आक्रमण र प्रत्याक्रमणको सिलसिला चलिरहँदा अमेरिका पनि युद्धमा होमिनसक्ने सम्भावना देखिएको छ ।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण गर्न सक्ने औल्याइएको छ । फार्स न्युज एजेन्सीको स्रोत उदृत गर्दै इजरायलको आक्रमणपछि इरानले अमेरिकी सैन्य अखडामा हमला गर्न सक्ने उल्लेख गरेको हो । इरानमा भएको हमलामा अमेरिकी सहयोगबारे संयुक्तराष्ट्रसंघस्थित इरानी राजदूत अमिर इराभानीले बताएका छन् । यसकारण पनि इरानले आक्रमणको तारो अमेरिकी सैन्य अखडालाई बनाउने सम्भावना औल्याइएको छ ।
अमेरिकाले मध्यपूर्वका १९ स्थानमा सैन्य अखडा राखेको छ । जसमा ८ स्थायी अखडा छन् । मध्यपूर्वका बहराइन, इजिप्ट, इराक, जोर्डन, कुबेत, कतार, साउदी अरेबिया र युएईमा अमेरिकाको स्थायी सैन्य अखडा छन् । जसमा ५० हजार जति अमेरिकी सैनिक समेत छन् । ती अखडाहरुमा इरानको हमला हुनसक्ने देखिएको छ ।
इरानले अमेरिकी सैन्य अखडामा हमला गरेमा स्थिति तनावग्रस्त हुनसक्छ । मध्यपूर्व ठूलो युद्धको भूमरीमा फस्न सक्छ ।
रुस र चीनले इरानमाथि इजरायली हमलाको निन्दा गरेका छन् । यी दुई देश इरानलाई हतियार बेच्दै आएका छन् । यसकारण पनि इरानमाथिको हमलाले युद्ध विस्तार हुनसक्छ । ठूला देशहरु प्रोक्सी या सिधा युद्धमा तानिन सक्छन् ।