‘प्रकाशमान राउतले राजालाई भेटेका हो’ भन्ने समाचार लेख्नेलाई अवहेलना मुद्दा चलाएको गम्भीरता छः पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियोसहित)

काठमाडौं, ३० वैशाख । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले ‘प्रकाशमान सिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको’ भन्ने समाचार लेखेकोमा नेपाली पेनका प्रधान सम्पादक डा. दीपेश केसीलाई अवहेलनाको मुद्दा चलाएको विषय गम्भीर भएको बताएका छन् । उनले यो विषय गम्भीर भएको भन्दै आग्रह पूर्वाग्रहमा फैसला नगर्न न्यायाधीशहरुलाई न्यायमा समानता देखाउन भने ।
‘प्रकाशमान राउतले राजालाई भेटेको हो भन्ने समाचार लेख्नेलाई अवहेलना चलाएको गम्भीरता छ,’ पूर्वप्रधानन्यायाधीश पराजुलीले एभरेष्ट नेपाललाई दिएको अन्तवार्तामा भने, ‘मुख हेरेर फैसला नगर्नुहोस्, पद्धति बसाल्नुहोस् ।’
अदालत र प्रधानन्यायाधीशको अवहेलना मुद्दामा भएका फैसलाबाट अराजकता निम्तिएको टिप्पणी गरे । उनले भने, अवहेलना मुद्दा आफू अनुकूल नभए सजाय गर्ने प्रतिकूल भए सजाय गर्ने भएको छ । यसलाई भन्छन् अराजकता । अवहेलना मुद्दा मनोमानी ढंगले भएको बताउँदै भने, ‘अवहेलना मुद्दामा गरेका फैसलाबाट अराजकता निम्तिएको छ । राणाकालमा भाइभारदाले जे जे भन्थे त्यही गर्दथे ।’
न्यायाधीशहरु पटक पटक चुकेको उनको भनाई थियो । पराजुलीले भने, न्यायाधीशहरु चुक्नुभएको छ र मिडियामा बिक्नुभएको छ । आफ्नो मिडिया चलाएर लेखाएर मिडियाको इशारामा चल्नुभएको छ ।
न्यायाधीशहरु राजनीतिक भागवण्डाका आधारमा नियुक्त भएको समेत टिप्पणी गरे । उनले क्षमतावान र इमान्दारलाई पन्छाएर भागवण्डामा नियुक्त गरिएको बताए । उनले भने, ‘क्षमतावान र इमान्दारलाई पन्छाएर भागवण्डामा नियुक्ति गरिएको छ । जुन दिन सत्य बोल्न चाहे त्यो दिनदेखि मेराविरुद्ध लागे । त्यसको परिणाम भोग्दैछन् ।’
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटका नाममा नेपाली भाषा मेट्ने फैसला अदालतबाट भएकोमा आलोचना गरे । उनले भने, ‘मेरो मेरो सरकारी गाडीमा नेपाली अक्षर राखेको मेटाइएको मन परेको छैन ।’