२१ बैशाख २०८२, आइतबार | May 4, 2025

नेपाली पेनका प्रधानसम्पादक डा. केसीको सर्वोच्च अदालतमा आज बयान


5.4k
Shares

काठमाडौं, २० वैशाख । नेपाली पेनका प्रधानसम्पादक डा. दीपेश केसीको आइतबार सर्वोच्च अदालतमा बयान हुने भएको छ । शुक्रबार हाजिरी जमानीमा छाडिएका केसीको आइतबार बयान हुने तोकिएको हो ।

केसीमाथि प्रधानन्यायाधीश प्रकाश मान सिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको समाचार लेखेवापत् मुद्दा दायर भएको हो । केसीले अदालतको सम्मान गर्ने र कानूनी लडाईँ लड्ने बताएका छन् ।
अदालतमा भएका भ्रष्टाचार, विकृति, विसंगतिका विषयमा केसीले कलम चलाउँदै आएका छन् । उनीमाथि समाचारलाई लिएर डर, धाक, धम्की र चेतावनी दिने क्रम चलिरहेको थियो ।

२३ वर्ष पत्रकारिता गरिसकेका नेपाली पेनका प्रधानसम्पादक केसी खोज पत्रकारका रुपमा परिचित छन् । उनले सार्वजनिक जग्गा हडपिएका घटनाहरुको उजागर गर्दै आएका छन् । संगठित अपराधबारे गहिरो अध्ययन गर्दै आएका उनले २० वर्ष नेपालको जेलहरुको अध्ययन गरेका छन् । ग्याङस्टार, माफिया, संगठित अपराध जस्ता विषयमा उनको पुस्तक, जर्नल आर्टिकल र लेखहरु प्रकाशित छन् ।

यसैगरी, शुक्रबार अदालतमा उपस्थित भएकी नेपाली पेन डट कमकी कार्यकारी सम्पादक सचिना बाँनियाले सुत्केरी अवस्थामा भएकाले ६० दिनपछि मात्र बयानका लागि उपस्थित हुनुपर्ने भएको छ । उनी शिशुसहित अदालतमा पुगेकी थिइन् ।

प्रतिक्रिया