काठमाडौं, १८ वैशाख । समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दा खेपेका नेपाली पेन डट कमका प्रधान सम्पादक डा. दीपेश केसी र सम्पादक सचिना बाँनिया भोलि शुक्रबार बयानका लागि जाने भएका छन् । केसीले भोलि ११ बजे सर्वोच्च अदालतमा बयानका लागि जाने जानकारी दिए ।
प्रधान न्यायाधीश प्रकाश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ? शीर्षकको समाचार संवैधानिक निकायहरुका ५२ जना पदाधिकारीको नियुक्तिको सम्बन्धी मुद्दालाई प्रभावित पार्ने उद्देश्य राखिएको भन्दै दायर मुद्दामा नेपाली पेनका प्रधान सम्पादक डा. दीपेश केसी र सम्पादक सचिना बाँनियालाई सर्वोच्च अदालतले बयानका लागि बोलाएको हो । न्यायाधीशहरु अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सबुत प्रमाणसहित ७ दिनभित्र अदालतमा बयानका लागि उपस्थित हुन आदेश दिएको थियो ।
अदालतको आदेश मानेर कानूनी लडाईँ लड्ने घोषणा गरेका केसीले हदम्यादभित्र बयान दिने भएका हुन् ।
११ वैशाखमा सर्वोच्चको पत्रमार्फत् १० वैशाखको आदेशअनुसार समाचार अविलम्ब हटाउन भनिएको गिथयो । सर्वोच्चको पत्रमा अदालतको अवहेलना मुद्दामा देशको प्रधानन्यायाधीशलाई जोडेर सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनवाई भइरहेको विचाराधीन मुद्दाको विषयमा आपत्तिजनक र आधारहिन टिप्पणी गर्दै प्रकाशित समाचार न्याय व्यवस्था प्रति सर्वसाधारण्मा भ्रम सृजना गर्न सक्ने देखिएको भनिएको छ ।
नेपाली पेन डट कमका प्रधानसम्पादक डा. दीपेश केसीले सर्वोच्च अदालतको आदेश पालना गर्ने र संविधान र कानून अनुसार जस्तोसुकै सजाय भोग्न तयार भएको स्पष्ट पारिसकेका छन् । केसीले बिहिबार सार्वजनिक अपिलमार्फत् लेखेका छन्ः
हार्दिक अपिल:
मैले विगत २३ वर्षदेखि पत्रकारिता गर्दा राष्ट्र, राष्ट्रियता र सनातन हिन्दू धर्म, संस्कृतिको रक्षार्थ अनवरत कलम चलाउँदै आएको निवेदन गर्दछु । पत्रकारिताको धर्म निर्वहन गर्ने क्रममा सबै किसिमका डर, धाक, धम्कीबाट अविचलित गही सत्य, तथ्य खवर प्रकाशित गर्दै आएको र गरिरहने छु। सार्वजनिक जग्गा र सार्वजनिक सम्पत्ति रक्षाका लागि कलम चलाएर देशहितमा काम गरेकोमा गर्व लागेको छ । सामाजिक समस्यासँग सम्बन्धित दर्जन पुस्तक लेखेँ । जर्नल आर्टिकलहरु प्रकाशित भए । सयौं प्रकाशित लेख रचना लेखेँ । जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेँ । नेपालको कारगारमा दुई दशक अध्ययन गरी २० हजारभन्दा बढी कैदीबन्दीसँग भेटेँ । यसरी संगठित अपराधबारे गहिरो अध्ययन, अनुसन्धान गर्दै आएँ । मैले न्याय परिषदबाट हुने न्यायाधीश नियुक्तिमा हुने विसंगति विकृति, न्याय परिषदका कामकारबाही, न्यायपालिकाको सम्मानित कुर्सीमा आसिन व्यक्तिको गलत आचरण र क्रियाकलाप उजगार गर्दै आएँ । सचेतनाका साथ इजलासको न्याय सम्पादन प्रक्रियालाई अवरोध हुनेगरी कुनैपनि समाचार प्रकाशित नगर्दा पनि ममाथि अदालतको अवहेलना मुद्दा दायर भएको छ । यसको सामना कानूनी प्रक्रियाबाट गरिरहेको छु । प्रेस तथा वाक स्वतन्त्रताका पक्षमा यो मेरो अभियान हो । यसमा ऐक्यवद्धताका लागि पत्रकार, सञ्चारकर्मी, पेशाकर्मीसहित तीन करोड न्यायप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसँग हार्दिक अपिल गर्न चाहन्छु । सम्मानित अदालतको आदेशको परिपालन गर्दै अदालतको सम्मानको लागि म भोलि (शुक्रबार १९ वैशाख २०८२) बयानको लागि सर्वोच्च अदालत उपस्थित हुँदैछु। नेपाल बार एशोशिएसन, विभिन्न बार इकाईहरू, स्वतन्त्र कानून व्यवसायीहरु, विकृति विसंगति विरुद्ध सही अर्थमा प्रतिबद्ध कानून व्यवसायीज्यूहरूमा Solidarity र कानूनी प्रतिरक्षाका लागि हार्दिक अपिल गर्दछु।
सम्पर्कका लागि दीपेश केसीः ९८४९१६२८२०
मेरो सहयोगी दिलकुमार लिम्बूको सम्पर्क नम्बरः ९८५१२०७०१६