यी हुन् नेपाल प्रहरीको डिआइजीका प्रतिष्पर्धी

काठमाडौं, ७ वैशाख । नेपाल प्रहरीमा एआइजी बढुवालगत्तै १० रिक्त डिआइजीका लागि दौडधूप चलेको छ । भावी आइजीपीका रुपमा पनि लिइएकाहरु आफूभन्दा अघिल्लो ब्याचीलाई उछिनेर डिआइजी बन्ने दौडमा छन् ।
२०५६ असार ३ मा इन्स्पेक्टरमा भर्ना भएर हाल एसएसपी रहेकाहरु आफूभन्दा अघिल्लो ब्याचीलाई उछिनेर डिआइजी बनी आइजीपीको मुख्य दाबेदार बन्न खोजेका छन् । उनीहरुमध्ये विश्व अधिकारी, भूपेन्द्र खत्री, सानुराम भट्टराई, शेखर खनाल, गंगा पन्त, दीप शमशेर जबरा, सोमेन्द्र सिंह राठौर छन् । विश्व, शेखर, भूपेन्द्र, सानुराम र गंगा पन्तलाई भावी आइजीपीको रुपमा हेरिएको छ । उनीहरु महत्वपूर्ण जिल्लाको इन्चार्ज भइसकेका छन् ।
२०५४ चैत्र १८ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका सुदर्शन कोइराला र दिपक रेग्मी पनि डिआइजीको दौडमा छन् । उनीहरुको ब्याची दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी हालैमात्र एआइजी बढुवाको सिफारिशमा परेका छन् ।
राष्ट्रिय अनुसन्धान विभागमा २०५३ मा भर्ना भइृ पछि प्रहरीमा सरेका ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, शारदाप्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्रबहादुर गुरुङ, दिलिप सिंह देउवा र दिपककुमार बस्नेत पनि डिआइजीको दौडमा छन् ।