३० चैत्र २०८१, आइतबार | April 14, 2025

जताततै आफ्ना मान्छे भर्ती गर्दै ओली


830
Shares

काठमाडौं, २९ चैत्र । सरकार बनेको एक वर्ष नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको महत्वपूर्ण निकायमा आफ्ना मान्छे भर्ती गरिरहेका छन् । विशेषगरी सरकारले नियुक्त गर्ने निकायहरुमा ओलीले आफ्ना खास मान्छेलाई भर्ती गरिरहेका छन् । एमालेको घोषित र अघोषित कार्यकर्ताहरु मालदार ठाउँहरुमा नियुक्ति पाइरहेबाट लेबी पनि बढ्ने अवस्था विकास भएको छ ।

ओलीले नेपाल धीतोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरे । ५० भन्दा बढी कम्पनीले आइपीओको आवेदन दिइरहँदा श्रेष्ठको नियुक्तिमा ठूलै खेल भएको चर्चा चल्यो । झण्डै एक खर्ब रुपैयाँ बराबरको आइपीओ अनुमति दिनेगरी श्रेष्ठ ल्याइएका हुन् । उनी ओलीको चाहना बमोजिम ल्याइए ।

अर्को मालदार ठाउँ हो नेपाल विद्युत प्राधिकरण । प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई ल्याइयो । शाक्यलाई विगतमा ओली सरकारले नियुक्त गरेकोमा प्रचण्ड सरकारले हटाएर कुलमानलाई बनाएको थियो ।

ओली प्रधानमन्त्री भएलगत्तै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको नियुक्ति भयो । पहाडीको नियुक्ति पनि एमालेनिकट पुरुषोत्तम खनालको स्वार्थ अनुसार भएको थियो । टेलिकममा एमाले समर्थकहरुको हालीमुहाली छ ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा पनि एमालेनिकटलाई बनाउन खोजिएको छ । यसमा पनि ओलीको स्वार्थ देखिन थालेको छ । काँग्रेसले दाबी गरेपनि एमालेले आफ्नो खास मान्छेलाई योजनावद्ध तरिकाले बनाउन खोजेको छ ।

नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा शोभाकान्त पौडेल ल्याइए ।

ओलीको पालामा एमाले निकटहरु सर्वोच्च र उच्च अदालतमा धमाधम न्यायाधीश बनिरहेका छन् । यो क्रम अझै चल्ने देखिन्छ । एमालेनिकट वकिललाई सर्वोच्च, उच्च र जिल्लामा न्यायाधीश बनाउने तयारी चलिरहेको छ ।

नेपाल बार एशोशिएसनको चुनावमा पनि २ दशकपछि एमाले महासचिवसहित आधा शक्तिका साथ स्थापित भएको छ । नेपाल पत्रकार महासंघमा एमालेनिकटको नेतृत्व छ ।

रिक्त रहेका संवैधानिक निकायहरुमा एमालेले आफ्ना समर्थकलाई भर्ती गर्ने तयारी गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त देखि विभिन्न पदहरुमा एमालेनिकटहरु नियुक्तिको दौडमा छन् ।

प्रतिक्रिया