३ कार्तिक २०८१, शनिबार | October 20, 2024

पश्चिम नेपालमा ठूलो भूकम्प जाने पूर्वानुमान


0
Shares

काठमाडौँ, वैशाख १७ गते । पश्चिम नेपालमा निरन्तरको भूकम्पले जनजीवन प्रभावित बन्न थालेको छ। डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङलगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखादेखि भारतको देहरादुनसम्मको भूभागमुनि थुप्रिएको भूकम्पको ठूलो शक्ति एकीकृत भएर बसेको छ। यस्तो अवस्थामा सानादेखि मध्यमस्तरका भूकम्पको धक्का जाने क्रम जारी रहन्छ। तर पटकपटकको धक्काले सञ्चित रहेको भूकम्पको शक्ति कम हुँदैन।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भौगर्भिक अध्ययनले नेपालको पश्चिम क्षेत्रमा र भारतसँग जोडिएका भूभागमा कुनै पनि समय आठ म्याग्निच्युडभन्दा ठूलो भूकम्प जाने प्रक्षेपण गरेको छ। वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीले त्यति ठूलो भूकम्प केही वर्ष वा दशकभित्र जान्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताउनुभयो। उहाँले भन्नुभयो, “जुन दिन शक्ति धान्न नसकिने अवस्थामा पुग्छ त्यही बेला धर्तीबाट भूकम्पको स्वरूपमा शक्ति बाहिर निस्कन्छ।”

त्यस भेगमा करिब पाँच सय वर्षयता ठूलो भूकम्प गएको छैन। त्यसैले पनि ठूलो भूकम्प जाने सम्भावना बलियो हुँदै गएको तर्क भूकम्पविद्हरूको छ। बाजुरामा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म लगातार चारवटा भूकम्प गए। पाँच दिनअघि पनि भूकम्प गएको थियो। बिहीबार राति करिब १२ बजे पहिलो भूकम्प ४।९ म्याग्निच्युडको थियो भने बिहान साढे एक बजे ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो। शुक्रबार बिहान पाँच बजेर ५७ मिनेटमा ३।९ म्याग्निच्युड र बिहान नौ बजेर २५ मिनेटमा ४।१ म्याग्निच्युडको भूकम्प गयो। यो क्रम जमिनमुनिको शक्ति ठूलो भूकम्पका रूपमा बाहिर ननिस्किएसम्म जारी रहने केन्द्रले जनाएको छ।

लगातार पहाड हल्लिन थालेपछि स्थानीय बासिन्दा राति राम्ररी निदाउन सकेनन्। गत वर्षको भूकम्पले घर भत्किएका पीडितहरू पालको भरमा रहेकै बेला फेरि लगातार भूकम्प गएपछि स्थानीयमा त्रास बढेको छ। शुक्रबारदेखि दैनिकी पनि ढुक्कका साथ सञ्चालन गर्न सकेका छैनन्। यसअघि बाजुरामा वैशाख १० गते पनि ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो। केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले चार म्याग्निच्युडभन्दा साना भूकम्प धेरैवटा गइरहेको जानकारी दिनुभयो। उहाँले दुवै भूकम्पपछि १२९ वटाभन्दा बढी पराकम्पको धक्का महसुस गरिएको जानकारी दिनुभयो।

भूकम्पले बाजुराको पूर्वी–उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा २३ वटा घर भत्किएका छन्। हिमाली गाउँपालिका–२ का वडाध्यक्ष रणबहादुर बुढाले बिहीबार राति गएको भूकम्पले हिमाली गाउँपालिका–२ कोट, कोटीका, रुम्दी, नाटी खोलालगायत टोलका घर पूर्ण रूपमा भत्किएको जानकारी दिनुभयो। गत माघ १० गते बाजुराको स्वामिकार्तिक मेलामा केन्द्रविन्दु भएर ५।९ म्याग्निच्युडको भूकम्पले चर्किएका घर बिहीबारको भूकम्पले पूरै भत्किएका छन्।

वडाध्यक्ष बुढाका अनुसार घर भत्किएपछि अहिले यहाँका स्थानीय त्रिपालमा बसिरहेका छन्। गत माघमा गएको भूकम्पले गौमुल गाउँपालिकामा एक महिलासहित ६५ भेडाबाख्रा मरेका थिए। हिमाली गाउँपालिकामा केही घर भत्किएको भन्ने कुरा जानकारीमा आएपछि प्रहरी त्यो ठाउँमा गएको र वास्तविक घरमा क्षति भएको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाजुरामा गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण, ५०९ आंशिक र ४६३ घरमा सामान्य क्षति भएको थियो।

बिछिया आसपास केन्द्रबिन्दु भएर गत माघ १० गते ५।९ र फागुन १० गते ५।२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसअघि गत कात्तिक २३ गते डोटीको खप्तड आसपास केन्द्रबिन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसले ७९६ वटा पराकम्पको धक्का दोहो(यायो। गोरखापत्रबाट

प्रतिक्रिया