१ चैत्र २०८१, शनिबार | March 16, 2025

एनभिए गण्डकी प्रदेशको एक दिने अभिमुखिकरण कार्यशाला गोष्ठि सम्पन्न


6.1k
Shares

पोखरा,२ चैत्र । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) गण्डकी प्रदेशले मुल्यांकन पेशामा देखिएका समस्या समाधानका लागि एक दिने अभिमुखिकरण कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।

एनभिए केन्द्रीय कार्यालयको निर्देशनअनुसार मुल्यांकन पेशमा देखिएका वर्तमान समस्या समाधान तथा मुल्यांकन कर्ताहरुको ज्ञान आदानप्रदानको उद्देश्यले पोखरास्थित होटल सरोबर लेकसाइडमा आज (शनिबार) सो कार्यक्रम आयोजना गरिएको हो । कार्यशाला गोष्ठिमा १ सय भन्दा बढी भ्यालुयर्स इन्जिनियरहरुको उपस्थिति थियो ।

गण्डकी प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि एनभिएका केन्द्रीय अध्यक्ष ई.सन्जयकुमार महतो थिए भने विशेष अतिथिमा एनभिएका केन्द्रीय उपाध्यक्ष ई. दिनेश पाठक, केन्द्रीय सचिव ई.रबिन्द्र अधिकारी थिए । त्यसैगरी अतिथिमा गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष ई. राजेन्द्र लिगल, गण्डकी प्रदेशका सल्लाहकारहरु ई.रबिन्द्रलाल मुल, ई.सुरेश प्रसाद श्रेष्ठ, आर्कीटेक्ट बाबुराम बराल र ई. राजेन्द्र प्रजु थिए ।

कार्यक्रमका प्रमुख अतिथि ई.महतोले क्लस्टर,प्रदेश बलियो भएमात्र एनभिए बलियो हुने भन्दै एनभिएको बृहत्तर हितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । मुल्यांकन पेशा राम्रो भएपनि आर्थिक मन्दी लगायत विविधि कारणले पछिल्लो समय बिग्रिएको बताए । उनले भने,“भ्यालुयर्स इन्जिनियरहरु आफ्नो भ्यालु बढाउन तिर लाग्नुपर्छ । कसैले बोलाउदा बित्तिकै जान हुँदैन्,हामीले हाम्रो भ्यालु आफै बढाउने हो ।”

गण्डकी प्रदेशको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका मुख्य प्रशिक्षकमा केन्द्रीय उपाध्यक्ष पाठक थिए भने प्रदेश उपाध्यक्ष ई.राजेश भट्टराई र वरिष्ठ आर्किटेक्ट बाबुराम बरालले सहजीकरण गरेका थिए ।

आज सम्पन्न भएको सो कार्यक्रमबाट पुराना मुल्यांकनकर्ताहरुलाई पुर्नताजगी र नयाँ भ्यालुयर्स इन्जिनियरहरुलाई विधी र पद्धतीको विषयमा जानकारी गराइएको मुख्य प्रशिक्षक ई. पाठकले बताए ।

एनभिएका केन्द्रीय सचिव ई.अधिकारीले भ्यालुयर्स इन्जिनियरहरुले आफ्नो आम्दानीअनुसार कामप्रति पनि सचेत हुनुपर्ने बताए । भ्यालुयर्स इन्जिनियरहरुले कमाएको रकम अफिस सञ्चालनदेखि आफ्नो लागि पनि जोगाउनु पर्ने भएकोले मुल्यांकन गर्दा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । इन्जिनियरहरु समस्यामा परिसकेपछि उम्किन गाह्रो हुने पनि उनले स्पष्ट पारे ।

कार्यक्रमबाट सहभागीहरुले भ्यालुयर्स क्षेत्रमा इन्जिनियरहरुले भोग्नु परेको समस्या,चुनौती र समाधानको विषयमा ज्ञान हासिल गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

एनभिए गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र बहादुर गोदारको सभापतित्वमा कार्यक्रमको समापन भएको थियो । बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन भएको सो कार्यशाला गोष्ठिको संयोजन भने ई.सन्देश पराजुलीले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन गण्डकी प्रदेशका सचिव ई. हरिप्रसाद अधिकारीले गरेका थिए ।

   

प्रतिक्रिया