त्रिचन्द्र क्याम्पसको सभापतिमा बानियाँसहित ९ जना भिड्दै

काठमाडौं,१ चैत्र । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा त्रिचन्द्र बहुमुखी क्याम्पसमा सभापतिमा विवेक बानियासहित ९ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तासँगै ९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
नाम फिर्ता लिने समय सकिएपछि निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामवली अनुसार सभापतिका लागि नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानिया,सागर न्यौपाने (स्वतन्त्र), अखिल क्रान्तिकारीकी मुना पौडेल,श्रीधर श्रेष्ठ (स्वतन्त्र), नेपाल क्रान्तिकारी विद्यार्थी संघकी जेनिशा तिमिल्सेना, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका अश्विन नेपाल, अनेरास्ववियुका प्रमित विष्ट, नेपाल विद्यार्थी संघका गोविन्द कोइराला र अखिल (क्रान्तिकारी)का प्रदिप भट्टको उम्मेदवारी परेको छ ।
त्यसैगरी, सचिवमा ७ जना, कोषाध्यक्षमा ६ जना, प्रत्यक्षतर्फको सदस्यको लागि २९ जनाको नामावली सार्वजनिक भएको छ ।
नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको तर्फबाट विवेक बानियाले उम्मेदवारी दिएका हुन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा असन्तुष्टी जनाउँदै नेपाल विद्यार्थी सँघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका बानियाँले स्वतन्त्र विद्यार्थीको तर्फबाट उम्मेदवारी दिन बाध्य भएको टिप्पणी गरेका छन् ।
अध्यक्षमा बानियाँसहित सचिवमा गौरव पाण्डे र कोषाध्यक्षमा अविना पौडेलले प्यानलै बनाएर उम्मेदवारी दर्ता गराएका हुन् ।