करोडौं कमिशनमा सुपारी तस्करी बढाउने गरी बन्देज हटाइयो

काठमाडौं, १६ फागुन । नेपालमा १ अर्ब ५ करोड ४६ लाखको सुपारी आयात भएको छ गत आर्थिक वर्ष । यसको मतलब प्रत्येक नेपालीले ३५ रुपैयाँको दरले सुपारी खान्छन् हरेक वर्ष । यसबाहेक नेपालमै ठूलो परिमाणमा सुपारी उत्पादन हुन्छ जुन खपत खासै हुँदैन ।
कोटा निर्धारण गर्दा पनि सुपारी अरबभन्दा बढी रुपैयाँको आयात भएको तथ्यांक छ । वास्तवमा सुपारी इन्डोनेशिया, मलेशिया जस्ता देशबाट आयात गर्ने र भारत तस्करी गर्ने गिरोह नै सक्रिय छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले सुपारीमा कोटानै हटाइदिएको छ । अब सुपारी आयात झन् बढ्ने र भारतमा तस्करी हुने देखिन्छ । भारतले यसै पनि आफ्नो देशमा सुपारी तस्करी नेपालबाट हुँदै आएको विषय उठाउने गरेको छ ।
सुपारी तस्करीको विषय उठेपछि यसको डीएनए टेष्ट सम्मको नियम ल्याइयो । तर, तस्कर र नियमनकारी निकायका कर्मचारी मिलेर धन्दालाई नियमित नै बनाए ।
सरकारले सुपारीको बन्देज हटाएपछि तस्करहरु सलबलाएका छन् । बन्देज हटाउन लगाउन पनि तस्करकै स्वार्थमा भएको बुझिएको छ । यसमा करोडौंको आर्थिक चलखेल भएको छ ।
सुपारी मात्र नभई केराउ, छोकडा, नधुलाएको मरीचमा पनि बन्देज लगाइएको थियो । यी सबै बन्देज खुलाइएको छ । तर, बजारमा यी सामाग्रीको मूल्य घटेको छैन । तस्करहरुले सामाग्री नेपालका लागि नभई भारतमा तस्करी गर्न ल्याउने गरेका छन् ।