काम कुरो एकातिर …देश सङ्कटमा,कोही सभापति र कोही प्रमुख अतिथि बन्ने दौडमा

संजिब गुरुङ्ग । कांग्रेस नीति हो, विचार हो एक योद्धा महानायकको महान विचारबाट प्रेरित संगठन आज त्यो विचार त्यो नीतिलाई लत्याउँदै समाजमा सामन्ती ढङ्गले त्यो विचारलाई मागी खाने भाडोको रूपमा प्रयोग गरी हरेक तहमा त्यही विचारलाई बन्दकी राखेर सामन्ती सोच भएका केही अग्रजहरू त्यसलाई बिक्रि गरेर खान तल्लिन देखिन्छ ।
महान विचारबाट प्रेरित प्रजातन्त्रमा आस्था राख्ने सम्पूर्ण नेपालीहरू आज पीडामा छन्, चिन्तामा छन् देशको अस्तित्व समाप्त हुने अवस्थामा छ । आर्थिक संकटले चुर्लुम्म डुबेको छ नेपाल । भने जस्तो अवसरहरू नपाउँदा राजनीतिक अस्थिरताले उथलपुथल भएको देशमा सोचेजस्तो नहुँदा रोजगारीको बहानामा होस् या पढाइको सिलसिलामा नयाँ पुस्ता देश छोड्न बाध्य छन् ।
देश ऋणमा छ आम सर्वसाधारण पनि ऋणमै छन् । सपना किन्न जाने होस् या सपनादेखि उच्च शिक्षा हासिल गर्न जाने होस् हरेक तहमा ठगिएको छ अर्काको देशको अवस्था नबुझ्दा ज्यान फाल्न बाध्य छन् नेपाली । कति नारीको सिन्दुर पुछिएको छ कति बालबच्चाहरूको अभिभावक लुटिएको छ कति बाआमाहरूको काख रितिएको छ ।
आज नेताका रूपमा उदाएकाहरू यस्ता कुराहरूलाई लत्याइकन त्यही बीपीको विचारलाई बेचिकन आफू बन्न, आफ्नालाई बनाउन तल्लिन देखिन्छन् । आज देश संकटमा छ हरेक तहमा दलालीहरूको हावी छ । धर्मलाई बीचमा राखी व्यापारीहरू एकअर्कामा लड्न तल्लिन छन् । कमिसन खाएकाहरू लडाउन व्यस्त छन् आज देशमा यो अवस्था सिर्जना हुँदै गर्दा नेपाली कांग्रेस जस्तो गरिमामय इतिहास बोकेको पार्टी र यी पार्टीका नेता भनाउँदाहरू कोही सभापति बन्न दौडिएको छन्, कोही कलाकारहरू राखेर प्रमुख अतिथि बनेर जनतालाई भ्रमित भाषणहरू दिन व्यस्त देखिन्छन् ।
आज समाज रित्तिएको छ, अस्तव्यस्त छ। तर सामन्ती सोच बोकेकाहरूआफूलाई सर्वेसर्वा ठानेर आफ्नो पहुँच देखाई आफूभन्दा अरुलाई निम्न ठानी लुट्नमा व्यस्त देखिन्छन् । देशलाई समृद्धको बाटोमा धकेल्नुपर्ने समयमा देश र जनतामाथि ऋणको भार बोकाई आफू कमिसन खाई देश र जनतालाई बर्बादी बनाउन तल्लिन नेता भनाउँदाहरूको कहिले बुद्धि आएन । कमाउ धन्दामा तल्लिन रहँदै गर्दा सम्पूर्ण नीति र सिद्धान्त बोकेका पार्टी र पद्धतिलाई प्राइभेट कम्पनीको रूपमा स्थापित गर्दैगर्दा आज देशको आम सर्वसाधारणले के आशा राख्ने ?
साँच्चै भन्नुपर्दा देशमा राजनीतिक चेतना नहुँदा आम सर्वसाधारणले सत्यतथ्य नखोज्दा यहाँ नेताका रूपमा उदाएका कर्मचारी तहका माथिल्लो निकायका यिनीहरू सबका आफ्ना छोरा नातीहरू देशभन्दा बाहिर सफल रूपमा डेरा जमाई बसिसकेका छन् । त्यसैले मेरो व्यक्तिगत विचारले विवेकले जे देख्यो त्यही भन्ने गरेको छु ।
आज सम्पूर्ण राजनीतिक दलमा लागेकाहरूलाई मेरो आग्रह हामीले सर्वेसर्वा ठानेकाहरू आफ्ना छोरा नातीलाई परदेशी भूमिमा सेटल गराई एउटा खुट्टा उचाली बसेको छ । समय र परिस्थितिले देशमा यदि संकट आयो भने यिनीहरू जतिखेर पनि नेपाल भूमि छोड्न तयार हुनेछन, यहाँ बसेका सर्वसाधारणले यति सास्ती खेप्नेछन् त्यो कहाली लाग्दो हुनेछ समयमै सचेत हुने की ? देश सङ्कटमा छ । काँग्रेसका नेता भनौँदाहरू कोही सभापति बन्न दौडिएको छ भने कोही प्रमुख अतिथि पनि अनावश्यक भाषण छाड्न ब्यस्त छ ।
(गुरुङ्ग नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन् ।)