९ फाल्गुन २०८१, शुक्रबार | February 22, 2025

चाँडै हिन्दुत्व विचारको सशक्त शक्ति


February 19, 2025
3.3k
Shares

डा. दीपेश केसी: प्रजातन्त्र दिवसमा नागरिक अधिकार, न्याय र सत्यका लागि प्राण आहुती दिने महान सहिदहरुप्रति हार्दिक श्रद्धासुमन । देश निर्माणमा रगत र पसिना बगाउनुहुने वीर पूर्खाको सदास्मरण ।

हिन्दुत्व विचारको जगमा उभिएर २०७९ को निर्वाचनमा मैंले स्वतन्त्र रुपमा ललितपुर क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएको थिएँ । त्यतिबेला संविधानबाट धर्मनीरपेक्षको खारेजी र हिन्दूराष्ट्र निर्माण, संघीयताको खारेजी र स्थानीय निकायलाई मजबुत बनाउने मुद्दालाई प्रमुख रुपमा अगाडि सारेको थिएँ । उम्मेदवारीमार्फत् जनजनको चुल्होसम्म यो सन्देश पु¥याउन सकेँ । देशको धर्म संस्कृति, परम्परा र रीतिरिवाजविरुद्धको योजनावद्ध प्रहारको ठेक्का लिएकाहरुविरुद्ध मेरो उम्मेदवारी थियो ।

समयले मैंले बोकेको विचार र मुद्दा सही थियो भन्ने प्रमाणित गरिदिएको छ । हिन्दू र सनातन धर्म माँस्न नास्तिकता फैलाउन नेपालमा अरबौंको खोलो बगाइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलासा गरिदिनुभएको छ । संघीयताका नाममा नेपालमा अरबौं दिएर ठगी भएको ट्रम्पले ६ फागुनमा सार्वजनिक रुपमा नै बोलिसक्नुभएको छ । धर्मनीरपेक्ष राख्न विश्वको एकमात्र हिन्दू राष्ट्र नेपालको पहिचान मेट्ने एजेन्डाहरु आफूलाई लामो इतिहास बोकेको दोहोराइरहने दलका नेताहरुले नै बोकेका थिए । यो एजेन्डा किन बोके भन्ने अरबौंको खोलो बगाइएको खुलासाले स्पष्ट पार्दछ ।

घटनाक्रमलाई केलाउँदै जानुहोस्, विदेशी पैसाको आँडमा नेपाली भाषा, देवनागरी लिपि नामेट पार्न अंग्रेजी रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट जर्बजस्ती लागू गराउन खोजियो, नागरिकता माँसेर राष्ट्रिय परिचयपत्रका नाममा संस्कृतिमाथि प्रहार गरियो, प्रविधिमैत्रीका नाममा राज्यकोषमा ब्रम्हलुट मच्चाइयो । नेपालीको जन्मदर घटाउन समलिङ्गी विवाह दर्ता वाध्य पार्न दबाब सृजना गरियो । गुठी प्रथा माँस्न निरन्तर प्रयास चलिरहेको छ । विक्रम संवत् हटाउने चलखेल चलिरहेको छ ।

मैंले २ दशकभन्दा बढी समययता सार्वजनिक जग्गा हडप्ने, सम्पदा माँस्नेको विरुद्ध लेख्ने र बोल्ने मात्र गरेको छैन कानूनी लडाईँमा भूमिका निभाउँदै आएको छु । सप्तपाताल पोखरी, कमलपोखरी माँसेर बनाइएको छायाँ सेन्टर होस् या गुठीका विभिन्न जग्गा हात पार्ने खेलविरुद्ध उभिएको छु । इम्बोस्ड नम्बर प्लेट लागू गराउन वाध्य पार्ने गिरोहको भण्डाफोर गरेँ । गुठी प्रथा माँस्ने योजनाको भडाफोर गरेँ । नेपालीपनमाथिको प्रहारविरुद्धको यो लडाईँ जारी रहनेछ ।

चुनाव सकिएको २ वर्ष बित्दा मैंले पराजयका बाबजुद आफ्नो मतदाताका लागि मात्र नभई सिंगो देशका लागि गर्व गर्न लायक काम गरेको ठानेको छु । आज प्रजातन्त्र दिवसको दिन यसो भन्दा गर्व लाग्छ कि मैंले यो देशको आत्माको चित्कारलाई सुनेर बोल्ने साहस गरेँ । देशको धर्म संस्कृतिको पक्षमा लड्ने सिपाहीका रुपमा आफूलाई समर्पित गरेँ । विश्वको शक्तिशाली देश अमेरिकाका राष्ट्रपतिले नै नेपालमा नास्तिकता फैलाउन, जातिय र क्षेत्रीय द्वन्द्व फैलाउन के कस्ता लगानी भित्रिएको थियो भन्ने खुलासा गरिदिइसक्नुभएको छ । यो घटनाले मैंले उठाएको मुद्दा देश र जनताको खास मुद्दा हो भन्ने पुष्टि गरेको छ । नेपालको आत्मामाथि प्रहार गर्नेहरुविरुद्ध सशक्त रुपमा डटेर लड्न तयार रहेर मैदानमा उत्रिइरहेँ । तपाईंँ ललितपुर क्षेत्र नं २ का मतदाता जो जस्ले मलाई मतदान गर्नुभयो यसमा गर्व गर्न सक्नुहुनेछ भन्ने घटनाले देखाइसकेको छ । जस्ले मतदान गर्नुभएन उहाँहरुको समेत शान र मान राख्न म सदैव कटिवद्ध भएर लाग्ने नै छु । मेरो चुनावी अभियानमा साथ सहयोग दिनुहुने र अहोरात्र खटिनुहुने सबैमा हृदयदेखि धन्यवाद ।

भावी दिनमा हिन्दुत्व विचारमा उभिएर राष्ट्रको कार्यमा अझ सशक्त ढंगले लाग्ने नै छु । अब चाँडै नै यो विचारका पक्षधरहरुबीच संगठित शक्ति निर्माण हुनेनै छ । यो शक्ति नै देशको मूल शक्ति हुनेछ ।
सबैभन्दा माथि देश हो । यो देशको आत्मा हिन्दु सभ्यता हो । म हिन्दु धर्मालम्बीसहित सनातन संस्कृतिको अभ्यास गरिरहनुभएका सबैलाई छिन्नभिन्न भएर होइन एकजुट भई आफ्नो धर्म संस्कृतिविरुद्धको आक्रमणलाई निस्तेज पार्न आव्हान गर्दछु । वीर पूर्खाले बनाएको नेपाल राष्ट्र, सहिदको रगतले ल्याएको प्रजातान्त्रिक यो देशलाई वैभवशाली बनाउन आ आफ्नो ठाउँबाट योगदान गर्न सकेमात्र महान सहिदहरुप्रति सच्चा सम्मान हुनसक्छ ।
नेपाल आमाको जय !
डा. दीपेश केसीले जारी गर्नुभएको प्रेस विज्ञप्ति । उहाँ २०७९ को निर्वाचनमा स्वतन्त्र रुपमा ललितपुर क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो

प्रतिक्रिया