१७ माघ २०८१, बिहिबार | January 31, 2025

सरकार ढल्ने कुरा हल्ला मात्रै, सत्ता गठबन्धनको गाँठो झन् कसिलो बन्दै


January 29, 2025
332
Shares

काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारको आयुको जोड घटाउ गर्दै गर्दा सत्ता गठबन्धन झनै बलियो बन्दै गएको छ। केही दिनयता भइरहेका गठबन्धन दलका एकल र सामूहिक छलफलले सत्ता सहयात्रालाई थप बलियो बनाउँदै लगेको हो।

द्विपक्षीय सहमति कार्यान्वयन गर्ने विषयमा दुवै दलका नेताहरू सक्रियताका साथ लागेका छन्। कांग्रेस–एमालेका नेताहरूबीच आन्तरिक र अन्तरपार्टी छलफललाई व्यापकता दिएका छन्। सरकारलाई सफल बनाउँदै गठबन्धनको बाँकी कार्यकाल सहमतिअनुसार अघि बढ्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सकारात्मक हुनुहुन्छ।

देशलाई स्थायित्व र स्थिरता दिन दुई तिहाइको सरकार बनेको नेताहरूले दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने बताउनुभयो।

‘अब १७र१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालेले पूराका पूरा सहयोग गर्छ । सफल बनाउँछौं,’ ओलीले भन्नुभयो– ‘अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनबिना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली कांग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ । सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने छाती पिटाइ, कपाल लुछाइ र बिलौनाको कुनै काम छैन ।’

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूसँगको छलफलमा प्रमुख सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो आशनसँगै राख्नुभएको थियो । ओलीको उक्त कार्यलाई नेपाली राजनीतिमा निकै महत्वका साथ हेरिएको छ । प्रधानमन्त्रीले फरक दलका नेताहरूलाई आफ्नो आसनसँगै आसनग्रहण गराएर छलफल चलाएपछि सत्ता गठबन्धनको गाँठो थप कसिलो भएको सन्देश दिएको छ ।

कांग्रेस–नेकपा एमालेबीच सत्ता सहयात्रा भएसँगै सरकारबाट बाहिरिएको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नटिक्ने भन्दै हिँड्नुभएको छ । प्रमुख प्रतिपक्षी बेन्चमा पुग्नुभएका दाहालले वर्तमान सत्ता गिराउने योजनाअनुसार गठबन्धनका नेताहरूलाई फकाउने अनेकन प्रयासहरू गरे पनि सफलता हात परेको छैन । यद्यपि, प्रतिपक्षी दलहरूले सरकारविरुद्धको आवाज एउटै बनाउने तयारीमा छन् ।

प्रतिपक्षीको मोर्चाबन्दीले सरकारलाई खासै असर नपर्ने नेपाली कांग्रेसले दाबी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सरकार एमालेसँग भएको सहमतिअनुसार २०८४ सम्म चल्ने बताउनुभयो। ‘सरकार ढल्ने हल्लामा कुनै सत्यता छैन’, घिमिरेले भन्नुभयो– ‘सरकार परिवर्तनको कुरा कसैले गरेको छैन। सम्भावना पनि छैन। यो समीकरण संसद्को बाँकी अवधिभर चल्छ । यो सातबुँदे सम्झौतालाई कार्यान्वयन गरेर पूरा अवधि चल्छ।’

कांग्रेस संसदीय दलको बैठकमा सबै सांसद र नेताहरूले गठबन्धन र सरकारलाई बलियो बनाउँदै जनतामा सरकारको प्रभावकारिता बढाउनुपर्ने विषयलाई जोडतोडका साथ उठाएको घिमिरेले नेपाल समाचारपत्रलाई बताउनुभयो। ‘सरकार चेन्ज हुने कुनै सम्भावना छैन’, उहाँले यसअघि थप्नुभयो– ‘यो कोलिसन संसद्को बाँकी अवधिसम्म पूरै चल्नेवाला छ। सातबुँदे सम्झौताबमोजिम नै यो आफ्नो गतिमा अगाडि बढ्छ । त्यही सम्झौतालाई हुबहु कार्यान्वयन गर्दै अघि बढ्छ।’

असार १७ गते राति भएको त्यही सातबुँदे सहमतिलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा लिएर संसद्को अवधिभर नेपाली कांग्रेस र एमाले मिलेर सरकार चलाउने र जनतालाई सुशासन दिने कुरामा दुवै दलको एकमत रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘विपक्षी दलका नेताहरूले मोर्चाबन्दी गरेर सरकारमाथि प्रहार गर्न खोज्नुभएको छ । उहाँहरूको त्यो योजना पूरा हुँदैन । यो सरकार पूरा कार्यकाल जान्छ।’

अहिले सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ९जसपा०, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र जनमत पार्टी रहेका छन्। सत्ता पक्ष एकजुट भएर ६ वटा अध्यादेशलाई सदनबाट पारित गर्ने प्रधानमन्त्री ओलीको योजना छ। त्यसपछि समितिमा छलफल सकिएका विधेयकहरू सदनमा प्रस्तुत हुने देखिन्छ। सरकारले ल्याएका अध्यादेश र सदनमा लैजाने विधेयकका विषयमा सत्तापक्ष दलहरू एकमत छन्। समाचारपत्र

प्रतिक्रिया