४ पुस २०८१, बिहिबार | December 19, 2024

‘जीबी’को खोजीमा के गर्दै छ सरकार ?


December 19, 2024
415
Shares

काठमाडौं,४ पुस। हजारौं सहकारी बचतकर्ताको करोडौं रकम ठगीका मुख्य अभियुक्त सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु ९जीबी० राई फरार भएको डेढ वर्ष बितिसक्दासमेत सरकारले पत्ता लगाउन सकेको छैन।

प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा खोजी जारी राखेको दाबी गरे पनि हालसम्म उहाँ कुन देशमा हुनुहुन्छ भन्ने अझै पत्ता लाग्न नसकेपछि सहकारी ठगी प्रकरणको समस्या ज्यूँका त्यूँ रहेको हो।

सो प्रकरणमा हालसम्म ६ सय ६९ जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाए पनि १ हजार ५ सय जनाभन्दा बढी अझै फरार छन्। पक्राउ परेकामध्ये धेरैजसोे पुर्पक्षका थुनामा रहेका र केही अनुसन्धानकै चरणमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तर, ठगीका मुख्य अभियुक्त राई भागेर नेपालबाहिर पुगेपछि नेपाल सरकार मातहतका अनुसन्धान अधिकारीहर अझै सहकारी ठगीको चुरोमा पुग्न सकेका छैनन्।

सहकारी ठगीसम्बन्धी अनुसन्धान गर्न गठन भएको सांसद सूर्य थापा नेतृत्वको संसदीय समितिले बुझाएको सुझावसहितको प्रतिवेदनलाई कार्यान्वयन गर्दै सरकारले पूर्वगृहमन्त्री एवंं रास्वपाका सभापति रवि लामिछाने, उहाँका व्यावसायिक साझेदार छविलाल जोशीसहित केही महत्वपूर्ण व्यक्तिहरू पक्राउ गरेको थियो। उनीहरूमाथिको अनुसन्धान सकेर प्रहरीले अन्तिम प्रतिवेदन जिल्ला न्यायाधिवक्ताको कार्यालय पोखरामा बुझाइसकेको छ।

यस प्रकरणका मुख्य अभियुक्त मानिएका राई विदेश भागेको आधारहरू फेला परेपछि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय, कास्कीको सिफारिसमा इन्टरपोलको नेसनल कन्ट्रोल ब्युरो ९एनसीबी० काठमाडौंले डिफ्युजन नोटिस जारी गर्न महासचिवालयलाई समेत अनुरोध गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले भन्नुभयो– ‘राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको र राहदानी रोक्का प्रक्रिया गरिसकेको छ । यद्यपि, उहाँ कुन देशमा हुनुहुन्छ भन्ने पत्ता लागिसकेको छैन, प्रहरीले उहाँको खोजीलाई जारी राखेको छ ।’

राईविरुद्ध सहकारीमा बचतकर्ताले राखेको करिब सवा अर्ब रुपियाँ हिनामिना गरेको भन्दै जाहेरी परेको थियो। इन्टरपोलमा जीबीसहित पूर्वअध्यक्ष भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध समेत डिफ्युजन नोटिस जारी भएको छ। डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलका १९६ देशले सम्बन्धित व्यक्ति आफ्नो मुलुकमा भएरनभएको सूचना प्रदान गर्छ। केही महिनाअघि उहाँ मलेसियामा रहेको सूचना इन्टरपोल मलेसियाले पठाए पनि अहिले उक्त लोकेसनमा राई नभएको सूचना प्राप्त भएको बताइएको छ।

त्यसपछि राईलाई मलेसियाबाट डिपोर्ट गरेर ल्याउने प्रक्रिया स्वरुप डिफ्युजन नोटिसलाई रेड नोटिसमा बदलिएको प्रहरी प्रवक्ता अधिकारीले नेपाल समाचारपत्रलाई बताउनुभयो। पछिल्लो समय राई मलेसियाबाट भागेर अमेरिका छिरेको हल्ला चलाइएको छ । यद्यपि, यो विषयमा प्रहरीले कुनै सूचना प्राप्त नगरेको अधिकारीको भनाइ छ।

राईविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान सकेर कास्की प्रहरीले १ अर्ब ११ करोड १ लाख रुपियाँ ठगी गरेको निष्कर्ष निकाल्दै रायसहितको प्रतिवेदन बुझाएको थियो। अदालतमा मुद्दा दर्ता भएपछि राईले नक्कली सेयर सदस्य खडा र कम्पनी खडा गरेर अनाधिकृत रूपमा ऋण प्रवाह गरेको भन्दै पूरक जाहेरी परेको थियो।

जसमा तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नामसमेत मुछिएको थियो। जीबी राई र रवि लामिछानेका व्यावसायिक साझेदार रहेको पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा मारेर सहकारीको सर्भर बरामद गरेपछि प्राप्त सूचनाका आधारमा प्रहरीले पूरक अनुसन्धान अघि बढाइरहेको थियो।

उक्त अनुसन्धानमा सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरी उच्च स्रोतको भनाइ छ।

राईले सहकारीबाट ठगी गरेको रकम ग्यालेक्सी टिभीसहित अन्य विभिन्न कम्पनीमा लगानी गरेको खुलेपछि उहाँका व्यावसायिक साझेदार छविलाल जोशी र रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई कास्की जिल्ला अदालतको अनुमतिमा पक्राउ गरी अनुसन्धानको प्रतिवेदन समेत जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसेको छ।

सहकारी ठगीमा पूर्वसांसद, मेयरदेखि दर्जन नेताहरू हिरासत र पुर्पक्षका लागि थुनामा छन्। एमालेका पूर्वसांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ, बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका सचिव कृष्णबहादुर ९केबी० उप्रेती, कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ ९सहकारी संस्था० का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी र पूर्वअध्यक्ष चन्द्रबहादुर ९सीबी० लामासहित नेताहरू सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्।

उनीहरूको मुद्दा विचाराधीन अवस्थामा छ। त्यस्तै, प्रहरीका पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी, रास्वपाका सभापति रविलामिछानेसहित दर्जन बढी उच्च तहका व्यक्तिहरू हिरासतमै छन्।

संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाविरुद्ध समेत सहकारी ठगी कसुरमा पक्राउ पुर्जी जारी भएको छ। मोरङको धनपालथान–३ मा सञ्चालित उमा–गौरी कृषि सहकारीको बचत अपचलनमा संलग्न देखिएपछि मोरङ जिल्ला अदालतले मंगलवार पक्राउ पुर्जी जारी गरेको थियो। उक्त सहकारी ठगीमा मंसिर २७ मै कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ।

त्यस्तै, राप्रपाकी सांसद गीता बस्नेत ६ महिनादेखि फरार हुनुहुन्छ भने ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी प्रकरणमा महाप्रबन्धक ज्योति गुरुङसहित अदालतले पक्राउ पुर्जी जारी गरेका १ हजार ५ सय ४० जना सहकारी ठगीमा संलग्न अझै फरार सूचीमा छन्। समाचारपत्रबाट

प्रतिक्रिया