रोल्पामा पर्खाल भत्किँदा ५ मजदुरको मृत्यु, २ जनाले भागेर ज्यान बचाए
दाङ,१६ मंसिर । रोल्पामा पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ । निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको हो ।
मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो । पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको बुझिएको छ ।