९ मंसिर २०८१, आइतबार | November 24, 2024

जनताले अब अत्याचार सहँदैनन् !


November 24, 2024
3.1k
Shares

प्रकाश रायमाझी । केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ्चर्यालीकोे झझल्को दिन्छ । सत्ता उन्मादमा रमाउने, कुशासन र भ्रष्टाचारको पर्याय बनेका व्यक्तिले जनतामा आशा जगाउने प्रयास गर्नु हास्यास्पद देखिन्छ । ओलीजस्ता नेताले पटक–पटक विभिन्न काण्ड र आरोपहरूसँग आफ्नो नाम जोड्न सफल भएका छन् । तर, आज पनि उनी आफ्ना विगतका कर्तुतहरूबारे कुनै छानबिनको सामना गर्न तयार देखिँदैनन् ।

उदाहरणका लागि, गिरिबन्धु, (बालुवाटार) जग्गा काण्डमा मुख्य योजनाकार मिनबहादुर गुरुङ, उनको संलग्नताको आरोप लगाइएको छ । जसरी बालुवाटारको सरकारी जग्गा माफियाहरूलाई हस्तान्तरण गर्ने प्रकरण उजागर भयो, त्यसमा तत्कालीन सरकारको प्रत्यक्ष भूमिका थियो । तर,आजसम्म यो काण्डमा वास्तविक अपराधीमाथि कुनै कारबाही भएको छैन् । यस्तै, नेपालको ठूला परियोजनाहरूमा उनले गरेका निर्णयहरू पनि विवादास्पद छन् । हालै कम्बोडियामा उनका नाममा करोडौँ जम्मा भएको आरोप लागेको छ । उनी निकट नेताहरूको कम्बोडियामा भ्रमणलगायतका गतिविधिले पनि प्रश्नलाई अझ पेचिलो बनाएको छ । आरोप लाग्दैमा कोही दोषी ठहरिने होइन । तर, नैतिकता भएको नेताले आरोपको ओठे जवाफ फर्काएर मात्र पुग्दैन, जनताको चित्त बुझाउन छानबिनमा पनि सहयोग पु¥याउनु पर्छ ।

विदेशमा पैसा लुकाएको, ठूला भ्रष्टाचारमा संलग्न भएको र देशलाई कङ्गाल बनाएको जस्ता गम्भीर आरोप ओलीमाथि लागेका छन् । पानामा पेपर्समा समेत नेपाली नेताहरूको नाम सार्वजनिक भएको थियो, जहाँ ओलीसँग नजिक रहेका व्यापारीहरूको संलग्नता देखिएको छ । यस्तो अवस्थामा,सत्य के हो, यो नेपाली जनताले थाहा पाउनुपर्छ । राष्ट्रघातमा संलग्न हुने, अकुत सम्पत्ति जम्मा गर्ने र विदेशमा सम्पत्ति लुकाउने नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । यस्ता अपराधी नेताहरूलाई कडा दण्ड दिन सकियो भने मात्र देशले समृद्धिको बाटो समात्छ । खोक्रा भाषण, गुण्डागर्दी र डर देखाएर शासन गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ ।

नेपाली जनता सीधा र सरल छन् । उनीहरूलाई आफ्नो दैनिक जीविकाका लागि नै कठोर संघर्ष गर्नुपर्छ । यस्तो अवस्थामा समेत राजनीतिक माफियाहरूले जनतालाई शोषण गर्न छाडेका छैनन् । कोभिड महामारीका बेला सरकारले पिपिई र औषधिहरू खरिद गर्दा समेत प्रशस्त अनियमितताले भएको थियो । जनताको स्वास्थ्यसँग खेलवाड भयो । थुप्रैले सास्ती भोग्नु पर्यो तर त्यसका लागि जिम्मेवार कोही ठहरिएनन् ।

लोकतन्त्रका नाममा जनताका अधिकार खोसिने स्थिति आजको कटु सत्य हो । दलहरूले आन्तरिक शुद्धिकरणको अभियान चलाउनुपर्छ । सधैँ एउटै हो नेतालाई देवत्वकरण गरेर नेतृत्व सुम्पनु, प्रतिस्पर्धात्मक राजनीतिलाई तहसनहस पार्नु र होनहार कार्यकर्ताहरूलाई दबाउने स्थितिको अन्त्य गर्नुपर्ने समय आएको छ । यस्ता दलाल नेताहरूले देशलाई निरन्तर बन्धक बनाइरहेका छन् ।
अब नेपाली जनताले बोल्नुपर्छ । दलभन्दा माथि उठेर देशको हितमा लाग्नुपर्छ । विश्वका कैयन् देशमा भ्रष्टाचारको आरोप लागेका नेताहरूलाई तत्काल छानबिन गरेर दण्डित गरिन्छ ।

यस कार्यमा अघि बढेका चीन, दक्षिण कोरिया लगायतका देश नै पछिल्लो समयमा विकसित मुलुकसँग काँधमा काँध मिलाएर हिँडने हैसियतमा पुगेका छन् । त्यहाँका जनताले भ्रष्टाचार सहन नगर्ने संस्कृति विकास गरेका छन् । नेपालमा पनि यस्तै परिपाटी सुरु गर्नुपर्छ । नेताहरूको खोक्रो भाषण सुनेर भ्रमित हुने होइन, तिनलाई जवाफदेही बनाउने समय आएको छ । भ्रष्टाचार, कुशासन र निरंकुश प्रवृत्तिको अन्त्य गर्दै जनताको जीवन स्तर सुधार्नुपर्ने आजको प्रमुख आवश्यकता हो । नेपाली जनताले अब अत्याचार सहन सक्दैनन् । समयले यस्ता भ्रष्ट नेताहरूलाई हटाएर देशलाई समृद्धिको बाटोमा डो¥याउने नेतृत्वको माग गरिरहेको छ ।
(रायमाझी राजनीतिक विश्लेषक हुन् )

प्रतिक्रिया