रास्वपा सकिदैछ : गोविन्द भट्टराई
काठमाडौं,१ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीबाट भ्रष्टाचार सुरु गरेको आरोप लगाएका छन् । सामान्य जनताले जम्मा गरेको पैसा नक्कली पात्र नै खडा गरेर रास्वपाका सभापति रवि लामिछानेले योजनाबद्ध तरिकाले ठगी गरेको उनको भनाइ थियो । कांग्रेस सल्यान जिल्लाको संयोजन र कांग्रेसबारे नगर कार्यसमितिको आयोजनामा आयोजित स्वागत भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो धारणा राखेका हुन् ।
“यस्तो त नेपालको इतिहासमा कहिल्यै भएको थिएन, माओवादीले बैंक लुट्यो,जनता लुट्यो तर यसरी सिधै नक्कली पात्र खडा गरेर होइन ।” उनले भने । नेता भट्टराईले रविकै लापरवाहीले चितवनमा पटक–पटक चुनाव गर्नुपरेको र सरकारको १५ करोड रुपैयाँ झ्वाम भएको पनि दाबी गरे । “उनकै कारण निर्वाचन २ पटक गराउनु पर्यो, १०/१५ करोड सरकारको फजुल खर्च गराइदिए । ”–उनले भने ।
प्राय अन्य तिर अवसर नपाएका र चौतर्फी असफल भएकाहरुको झुण्ड रास्वपा भएको भन्दै भट्टराईले भने,“उनीहरुसँग न त विचार छ, न सिद्धान्त न इज्जत, न त योजना न इतिहास र संघर्ष । उनीहरुको केबल एउटा नचाहिदों र जनता झुक्याउने कुरा छ, ‘देश बिग्रियो अब हामी बनाउँछौं’ ।”
रविले देश लुट्न दायाँ खल्तीमा नेपाली नागरिकता र बायाँ खल्तीमा विदेशी नागरिकता बोकेर नेपाल फर्किएको भट्टराईले सुनाए । नयाँ दल रास्वपालाई भ्रष्ट पार्टीको संज्ञा दिंदै भट्टराईले भने,“म ठोकुवाको साथ भन्छु कुनै पनि हालतमा रास्वपा र तिनका भ्रष्ट नेताहरुले देश बनाउन सक्दैनन् । कोही भ्रममा नपरे हुन्छ । जनता झुक्किनु पर्दैन् । यो आफै सकिन्छ । ” रास्वपा समाप्तिको दिशामा रहेको पनि बताए ।
प्रजातान्त्रिक व्यवस्थामा आडम्बर नटिक्ने भन्दै उनले जनतालाई राम्रो र नराम्रो छुटउने अधिकार रहेको स्मरण गराउँदै रास्वपालाई घमण्ड नदेखाउन पनि चेतावनी दिए । माओवादीले पहिलो निर्वाचनमा लगभग बहुमत ल्याएको स्मरण गराउँदै भट्टराईले पछिल्लो समय चार टुक्रामा विभाजित भएर अहिले समाप्तीको दिशामा रहेको पनि सुनाए । आगामी ०८४ सालको निर्वाचनमा कहिले एमाले र कहिले कांग्रेसको बुइ चढेर सत्ता कब्जा गर्ने माओवादी समाप्त हुने पनि उनको दाबी थियो ।
“प्रजातान्त्रिक व्यवस्थामा तपाई हामीले गरेका काम मिडियाले हेरिरहेका छन्, छर्लङ्ग देखाइदिन्छन् कहि कतैबाट लुक्छ भन्ने भ्रममा नपरौं ।” उनले भने । प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने र त्यही विचारलाई स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्ने पार्टी कांग्रेस भएको उनले सुनाए । युवा नेता भट्टराईले अन्य दलमा भन्दा विद्धान व्यक्तिहरु आफ्नो पार्टी कांग्रेसमा भएको भएतापनि विद्धताको बारेमा पार्टीले भन्दै नहिड्ने पनि सुनाए । आफ्नो पार्टीका विपिदेखि हालसम्मका नेताहरुले जनता नठगेको उनले दाबी गरे ।