५ कार्तिक २०८१, सोमबार | October 21, 2024

भीड बटुलेर कानुन नमान्ने रास्वपाको हर्कत


October 21, 2024
415
Shares

काठमाडौं,५ कात्तिक । देशको कानुनलाई सर्वोपरि ठानेर मुलुकलाई नयाँ दिशा दिने उद्घोषसहित २ वर्षअघि जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पछिल्ला गतिविधिले कानुनकै हुर्मत लिने हर्कत देखाएको छ।

सहकारी ठगी र संगठित अपराध आकर्षण अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न नपाइने भन्ने कोणबाट सो पार्टीका नेता कार्यकर्ताहरूले देशव्यापी आन्दोलनमा उत्रिएर कानुनी राज्यको धज्जी उडाएका हुन्।

ठगी संगठित अपराध, अकुत सम्पत्ति आर्जन, मानव बेचबिखनलगायत थुप्रै मुद्दामा यसअघि अनुसन्धानको दायरामा तानिएका रविभन्दा शक्तिशाली नेताका समर्थकहरू कानुनी कारबाहीका विरुद्धमा सडकमा आएका घटना बिरलै छन् । हालसम्म यस्ता काण्डमा रविसहित ६ जना पूर्वगृहमन्त्री र दर्जन बढी शक्तिशाली नेताहरू मुछिइसकेका छन्। तीमध्ये धेरैजसो अपराधी करार भएर कानुनी प्रक्रिया पूरा गरे भने कतिपय नेताहरू अझै जेलमा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा कांग्रेसको भ्रातृ संगठन तरुण दलका केही कार्यकर्ता सडकमा निस्किए पनि त्यस्तो क्रियाकलापप्रति पार्टीले साथ दिएन। बरू संसद्मा कांग्रेसका नेताहरूले नै कारबाहीमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्न महामन्त्रीहरूले सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए।

त्यस्तै, पूर्वगृहमन्त्रीहरू गोविन्दराज जोशी र खुमबहादुर खड्का गैरकानुनी सम्पत्ति आर्जनमा अनुसन्धानपछि सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भए । त्यस बेला पनि पार्टी नेता कार्यकर्ताले उनीहरूको पक्षमा बोलेनन्। कांग्रेसकै अर्का नेता पूर्वगृहमन्त्री विजयकुमार गच्छदारविरुद्ध बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिका नाममा लैजान अपराध गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा दायर मुद्दा विचाराधीन छ ।

माओवादी उपाध्यक्ष एवं पूर्वगृहमन्त्री कृष्णबहादुर महरा विद्युतीय चुरोट ९भेप० मा लुकाएर सुन तस्करी गर्ने गिरोहलाई संरक्षण गरेको आरोपमा पक्राउ पर्नुभएको थियो । उता, एमाले सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । यी नेताहरू पक्राउ पर्दा सम्बन्धित दल र नेता कार्यकर्ताहरूले सडकमै ओर्लिएर कारबाही नगर्न दबाब दिएका थिएनन् । इँटाभट्टामा मान्छेहरूलाई मारेको अभियोमा जेलमा रहेका नेता अफ्ताव आलम पक्राउमा समेत सडकमा कार्यकर्ताको भीड देखिएन ।

पूर्वगृहमन्त्री विजयकुमार गच्छदार र कृष्णबहादुर महरासहित केहीको मुद्दा अझै विचाराधीन छ । तर, रविलाई कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा आवश्यक अनुसन्धान गर्न दिएको अनुमति र पक्राउको विषयलाई लिएर पार्टीका जिम्मेवार नेताहरू नै सडकमा ओर्लिएर जग हसाँएको भन्दै आम रूपमा टिप्पणी भएको छ । ‘कानुनी राज्यमा कानुन मान्दिनँ वा कानुन नजानेर अपराध गरे भन्ने छुट कसैलाई छैन’, वरिष्ठ अधिवक्ता सीताराम केसीले भन्नुभयो– ‘त्यसमाथि पनि राज्यको गृह प्रशासनको बागडोर सम्हाली सकेका र देशमा केही नयाँ गर्छु भनेर उदाएका नयाँ दल र नेताहरूले पुराना दल र नेताहरूलाई नै बिर्साउने गरी कानुनी राज्यको उपहास हुने गतिविधि गर्नु कानुनलाई असहयोग गर्नु हो ।’

लामिछानेले गत शुक्रवार पक्राउ परेलगत्तै अदालती प्रक्रियाको सम्मान गर्ने प्रतिक्रिया दिनुभएको थियो । ‘म कुनै पनि न्यायिक जाँच दिन अदालती प्रक्रियाको सम्मान गर्न चाहन्छु । न्यायिक प्रक्रियामा सघाउने प्रतिबद्धता जनाउन चाहन्छु । म सम्मानित अदालतप्रति आशा राख्छु, विश्वास राख्छु’ –उहाँले भन्नुभएको थियो।

यसअघि लामिछानेका व्यावसायिक साझेदार छविलाल जोशी पक्राउलगत्तै आफू पनि पक्राउ पर्ने हल्ला फिँजाएर कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएर भाषण गर्दा पनि उहाँले कानुनी प्रक्रियामा सहयोग गर्ने बताउनुभएको थियो ।

यद्यपि, उहाँको पक्राउपछि रास्वपाका नेता, कार्यकर्ता र समर्थकले मुलुकभर अशान्त फैलाउने स्थिति सिर्जना गरेका छन्। देशभरबाट पोखरामा जम्मा भएका नेता कार्यकर्ताहरूले आन्दोलनका विभिन्न स्वरूपमा सरकार र अदालनको विरोध गर्दै सभापति लामिछानेको विनाकारबाही रिहा गर्नुपर्ने माग राखेका छन्।

उनीहरूले अनुसन्धानलाई प्रभावित बनाउन खोजेको सहकारी समस्यासम्बन्धी संसदीय विशेष छानबिन समितिका सभापतिसमेत रहेका एमाले सांसद सूर्य थापाले टिप्पणी गर्नुभएको छ। त्यस्तै, अन्य सांसदहरू र रास्वपाकै केही नेताहरूले समेत रास्वपाको सडक गतिविधिप्रतिको आलोचना गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पत्ति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्ने बताउनुभएको छ । सभापति लामिछाने पक्राउपछि विभिन्न जिल्लामा सडक बन्द गर्ने, टायर बाल्नेजस्ता घटना हुन थालेसँगै शनिवार नै कार्कीले विरोधकै विपक्षमा बोल्नुभएको थियो । ‘विरोधको यो तरिकालाई रास्वपाले कहिले पनि समर्थन गर्दैन । नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्दछ’ –उहाँले भन्नुभएको छ ।

यद्यपि, सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि रास्वपाका सांसदले पोखरामा कालोपट्टी आँखामा बाँधेर धर्ना दिइरहेका छन् । लामिछानेलाई आइतबार ६ दिनका लागि म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। तर, उक्त पार्टीका उपसभापति डीपी, अर्याल, डा।स्वर्णिम वाग्लेलगायत अधिकांश सांसदहरू नै सडक प्रदर्शनमा छन्। समाचारपत्रबाट

प्रतिक्रिया