६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

तनहुँको माटोले जन्माएको सर्वेन्द्र संसदमा साहस देखाउन पुग्नेछः सर्वेन्द्र खनाल


0
Shares

तनहुँमा जन्मिएर हुर्किएका सर्वेन्द्र खनाल नेपाल प्रहरीको पूर्वआइजीपी हुन् । यतिबेला उनी तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवार छन् । उपनिर्वाचनको प्रचारप्रसारमा व्यस्त खनालसँग नेपालपेनले गरेको विशेष कुराकानीः

तपाईंको प्रचारप्रसार कस्तो चल्दैछ ?

म रातदिन नभनी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई भेटिरहेको छु । यही माटोमा जन्मिएको हुर्किएकाले मलाई उहाँहरुसँग निकै सहज अनुभव भइरहेको छ । जहाँ पुग्यो त्यहाँ असाध्यै स्नेह पाइरहेको छु । यसले पनि मेरो जीत सुनिश्चित गरेको छ ।

काठमाडौंबाट तपाईं किन तनहुँ फर्कनुभयो ?

तनहुँ मेरो जन्मभूमि हो । म जहाँ जन्मिए, जहाँ हुकिएँ त्यहीं समयले फर्कायो । किशोरावस्थामा काठमाडौंमा रहँदा पनि मेरो मन तनहुँमै हुन्थ्यो । आखिर म यहाँकै माटोमा खेल्दै हुर्किएको न परेँ । प्रहरीमा रहँदा पनि मैंले तनहुँका लागि सक्दो भूमिका निभाएँ ।

तनहुँका लागि तपाईंले के के गर्नुभयो ?

म प्रहरीमा आइजीपी हुँदा बारम्बार तनहुँ आएँ । तनहुँवासीले निकै माया गर्नुभयो त्यतिबेला । यहाँ प्रहरी कार्यालयहरुको भवन थिएन जुन मेरै कार्यकालमा बने । खैरेनीमा १० करोडमा प्रहरी विद्यालय बन्यो । आज यो विद्यालयले यहाँको शिक्षाको विकासमा ठूलो योगदान गरेको छ । यहाँका नागरिकले यसको प्रत्यक्ष महशुश गरिरहनुभएको छ ।

तनहुँमा के के गर्ने योजना अगाडि सार्नुभएको छ ?

मलाई गर्व छ कि म आदिकवि भानुभक्त आचार्य जन्मिएको जिल्लामा जन्मिएँ । मेरो निर्वाचन क्षेत्र पनि यही हो । नेपाली भाषामार्फत् सिंगो देशलाई एक बनाउन भानुभक्तको योगदान अविस्मरणीय छ । तनहुँमा मात्र नभई देशभर उहाँको नाममा शिक्षा साहित्य क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने योजना छ । तनहुँ सुन्दर जिल्ला हो । यहाँ पर्यटन प्रवद्र्धन, कृषिको विकासमा नागरिकलाई समेटेर विशेष काम गर्ने अठोट गरेको छु ।

तपाईको चुनाव जित्ने आधार के हो ?

म नेकपा एमालेको मजबुत संगठनले निकै उत्साही छु । राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवालमा एमाले सबैभन्दा सशक्त रुपमा प्रस्तुत हुँदै आएको छ । यसकारण पनि एमालेप्रति तनहुँवासी र सम्पूर्ण देशवासीको विश्वास छ । अर्कोतर्फ, मैंले तनहुँमा जन्मिएर यस जिल्लाको प्रतिष्ठालाई अझ उठाउन भूमिका खेलेँ । यहाँको नागरिकको सुख दुःखमा साथै हिडे र अब पनि हिंड्छु । ममाथि तनहुँवासीको विश्वास छ । यसकारण उहाँहरुले अत्याधिक बहुमतले जिताउनुहुनेमा विश्वस्त छु । तनहुँमा जन्मिएको सर्वेन्द्रलाई साहस प्रस्तुत गर्नकै लागि जनताले जिताएर पठाउनुहुनेछ ।

प्रतिक्रिया