८ आश्विन २०८१, मंगलबार | September 24, 2024

‘भ्रष्टाचार लुकाउन खतरनाक सत्ता परिवर्तनको खेल’


17.7k
Shares

प्रकाश रायमाझी । सत्ता समीकरणको राजनीतिक मोडमा नयाँ अभ्यासहरू रातारात भइरहेको छन् । केपी ओली र शेरबहादुर देउवाले‌ सहमति गरेर कांग्रेस र एमालेको सरकार बनाउने र संविधान संशोधनको लागि कल्याण श्रेष्ठलाई समितिको संयोजक बनाउने सहमति गरे । तर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएको अवस्थामा र विश्वासको मत लिनु अगाडि प्रधानमन्त्री ओली वा जो कोही कसरी नियुक्ति हुन्छन् ? या त प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो । या त संसदमा विश्वासको मत लिन दिनुपर्यो ।

विश्वासको मत लिँदा जे परिणाम आए पनि उनले त्यो सामना गर्न पाउने अधिकार हो । कुटिल ढंङ्गबाट जनतालाई भ्रम पार्न केही गम्भीर प्रकृतिको भ्रष्टाचारको मुद्दाहरुमा अनुसन्धान अगाडि बढाएपछि हतास मनस्थितिबाट सरकार परिवर्तन गर्ने सहमति गर्नु भनेकै कानुनी शासन र विधि पद्धतिलाई चुनौती दिनु होइन् ?? यो कस्तो राजनीतिक खेल हो?? वर्तमान कार्यकारी प्रधानमन्त्रीलाई शासकिय काम कारबाही गर्न कसले रोक्छ ?? विभिन्न अपराधमा मुछेकाहरूलाई अनुसन्धान गर्न र कानुनी दायरामा ल्याउने प्रयत्न गर्दा नयाँ ढङ्गबाट सरकार गठन गर्ने एमाले–कांग्रेसको सहमति भएको हल्लाले मात्रै प्रभावित पार्न सक्छ ?? यो षड्यन्त्रमूलक ढंगबाट यदि जबरजस्ती प्रधानमन्त्री पुष्पकमललाई हटाइयो भने उनी फेरि सडक र अदालत जानुपर्ने बाध्यतामा पुग्छन् । त्यो प्रतिउत्पादक हुन्छ । अझै छरछिमेकीको रणनीति हेर्न बाँकी छ ।

संविधान संशोधनमा पाँचवटा बुँदामा संशोधन गर्ने प्रचण्डसहितको सहमतिमा कल्याण श्रेष्ठलाई जिम्मा लगाएको तथ्य जगजाएरै छ ‌। यो संविधान संशोधन गर्ने र ओलीको प्रधानमन्त्रीको नेतृत्वमा सरकार बनाउने नाउँमा अर्को अराजकता उत्पन्न गराउने यो रणनीति होइन ?? यिनै कांग्रेस–एमालेको मनोमानी राजनीतिको उपजको रूपमा तत्कालीन परिस्थितिमा विद्रोहको ज्वाला बनेर माओवादी जन्मेको होइन् ?? निषेधको राजनीति सत्ता केन्द्रीत मनोनवादको दशाबाट दलका नेताहरू ग्रसित हुँदा देशमा राजनीतिक अस्थिरता अझै लम्बिरहने भयो । या त वैकल्पिक अवस्था नहुने हो भने संसदबाट निकास दिन सक्दैन भने संसद विघटन गर ।

राष्ट्रिय सरकारको सहमतिमा नयाँ निर्वाचन गरौं, संविधानमा संशोधन गरौं अन्यथा यो अहिलेको जनताको आँखामा छारो हाल्ने राजनीतिक खिचातानीले देशको समग्र विकास तथा अर्थतन्त्रलाई अझ कमजोर बनाउँछ । अस्थिर राजनीतिमा छरछिमेकीले भरपुर खेल्ने मौका पाउँछ । देशको हित गर्छु भन्नेहरूले विचार गर्नुपर्ने हो । दूरदर्शी सोच नभएका भ्रष्टाचारमा ग्रसित नेता र राजनीतिक प्रणालीले यो मुलुकलाई स्थायित्व र निकास दिन सक्दैन् ।
(रायमाझी राजनीतिक विश्लेषक हुन् ।)

 

प्रतिक्रिया