२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

रविको देउवालाई प्रश्नः प्रधानमन्त्रीको अफर डेड स्पायर भयो कि छैन ?


913
Shares

काठमाडौं, ६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई विगतमा प्रधानमन्त्रीको अफर नेपाली काँग्रेसबाट आएको दाबी गर्दै अस्वीकार गरेको भोलिपल्टबाट प्रहार हुन थालेको बताएका छन् । सदनमा आइतबार बोल्दै लामिछानेले प्रधानमन्त्रीको प्रस्तावबारे नढाँटी जवाफ दिन समेत चुनौती दिए ।

प्रधानमन्त्रीको अफर डेड स्पायर भएको छ कि छैन ? लामिछानेले भने, काँग्रेस सभापतिज्यूले यसको जवाफ दिनुभए म आभारी हुनथिएँ ।

आफूमाथि सहकारी ठगीको आरोप निराधार भएको लामिछानेको दाबी थियो । उनले कृषि अनुदान ठगीको समेत छानविन हुनुपर्ने बताए ।

देशको गोप्य सूचना विदेशमा बेच्ने एजेन्टहरु संसदमा रहेको भन्दै लामिछानेले तिनलाई बाहिर पठाउनुपर्ने बताए । उनले को को विदेशीलाई गोप्य सूचना बेच्छन् भन्ने खोलेनन् ।

लामिछानेले सहकारी ठगी प्रकरणमा काँग्रेसकै नेताहरु आवद्ध रहेको उल्लेख गरे ।

आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी काम गर्न आएको तर ठूलो षड्यन्त्र भइरहेको दाबी गरे ।

आफूलाई विषकुण्डमा जर्बजस्ती डुबाउन खोजेको समेत उनको टिप्पणी थियो ।

बाँसबारी, बाल मन्दिर र टीकापुर, हायात मिलाउन आएको समेत दाबी गरे । यी सबै सरकारी जग्गा हिनामिनाको विषय हुन् ।

वाइडवडीको अरबौं घोटाला, टेरामक्स, कर छली देखि मनी लन्ड्रिङ, क्याम्पसका लुट र अस्पतालका घूसको विषय समेत उठाए रविले । यी घोटालामा व्यक्ति केन्द्रित समिति बनाउन समेत चुनौती दिए ।

प्याकको अनुदान हिनामिना, त्रिचन्द्र कलेजको पार्क निर्माण भ्रष्टाचारका विषय उठाउँदै काँग्रेस महामन्त्रीतर्फ कटाक्ष गरे रविले ।

विगतमा रातो पासपोर्ट दुरुपयोगको विषय पनि रविले उठाए । यो प्रकरणमा काँग्रेसका वर्तमान उपसभापति धनराज गुरुङ संलग्न भएको विषय उठेको थियो । यी सबै विषयमा छानविन गर्न चुनौती दिए ।

प्रतिक्रिया