४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

वाइडबडी खरिद घोटालामा अमेरिकाको चासो


498
Shares

काठमाडौं, २ वैशाख । नेपाल वायुसेवा निगमले खरिद गरेको बहुचर्चित वाइडबडी जहाज खरिद घोटाला प्रकरणमा अमेरिकाले समेत चासो देखाएको छ । यो प्रकरणमा अमेरिकाको भ्रष्टाचार अनुसन्धान गर्ने निकायले समेत छानबिन गरिरहेको बुझिएको छ। अमेरिकाको अनुसन्धान निकाय युएस सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले वाइडबडी घोटालामा छानबिन गरिरहेको हो ।

अमेरिकाको नियामक निकाय सुएस एसईसी नेपालको अख्तियारजस्नै निकाय हो । वाइडबडी खरिदमा अमेरिकी कानुन उल्लंघन भएको भन्दै अनुसन्धान गरिरहेको पाइन्छ । नेपाल वायुसेवा निगमले एयरबसको दुई वटा वाइडबडी जहाज खरिद गर्ने भनेर २०७३ चैत २५ मा जहाज आपूर्तिकर्ता कम्पनी अमेरिकाको एएआर कर्प इन्कसँग सम्झौता गरेको थियो । नेपालको वाइडबडी जहाज खरिद घोटालामा अमेरिकी कम्पनी एएआर कर्प इन्क जोडिएपछि युएस एसईसीले अनुसन्धान बढाएको हो ।

वाडइडबडी घोटालामा अमेरिकाले नेपाल सरकारसँग चासो राखेको बुझिएको छ । जसका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, सचिव शंकरप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, शिशिरकुमार ढुंगानासहित नेपाली र विदेशी गरी ३२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । वाडडबडी जहाज खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको अख्तियारको ठहर छ ।

एएआर इन्टरन्याश्नल इन्क अमेरिकाका अध्यक्ष तथा सीईओ जोन एम होल्मस र आपूर्तिकर्ता तथा प्रस्तावक कम्पनीमध्ये इन्टरन्याश्नल सप्लाई चेनका अध्यक्ष, एएआर कर्प इन्क अमेरिकाका प्रतिनिधि दीपक शर्मालाई समेत अख्तियारले वाइडबडी जहाज घोटालामा प्रतिवादी बनाएको छ । स्वास्थ्य लाइभको खोजीमा नेपाली मुलका बेलायती नागरिक दीपक शर्मा एएआर कर्प इन्कसँग सन् २०१५ देखि जोडिएको देखिन्छ ।

जहाज खरिद सेटिङमा ‘मास्टर माइन्ड’ एएआर कर्प इन्कका दीपक शर्मा कै योजनामा हाई फ्लाई एक्स आयरल्यान्ड नामक स्पेशल पर्पोज कम्पनी आयरल्यान्डमा दर्ता गरियो । उक्त कम्पनी मार्फत नै नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज उपलब्ध गराइएको हो । नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार र एएआर कर्प इन्कका शर्माको मिलेमतोमा हाई फ्लाई एक्स नामक नक्कली कम्पनी खडा गरेको आरोप लाग्दै आएको छ ।

अमेरिकी नियामक निकाय एसईसीले नेपालमा भएको वाइडबडी खरिद घोटालामा हङकङमा अर्को कमिसन एजेन्ट कम्पनी खडा गरेको पत्ता लगाएको बुझिएको छ । अमेरिकी एएआर कर्प इन्कका दीपक शर्मा, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार र नेपालका व्यापारी दीपक मल्होत्राको मिलेमतोमा हङकङमा कम्पनी खोलेर वाडडबडीमा कमिसनको खेलोमेलो मिलाएको खुल्न आएको छ । मल्होत्रका ‘बिजनेस पार्टनर’ दुबई र हङकङमा बसेर विश्वका विभिन्न देशमा सामसुङका मोबइल, टेलिभिजन, ट्याब्लेटलगायत उपकरण बेच्ने रमेशकुमार सावर्थिया र उनकी छोरी पूजा सावर्थियाको नाममा कम्पनी खडा गरेर वाइडबडी खरिदको कमिसन व्यवस्थापन गरिएको खुल्न आएको हो ।

मल्होत्रका ‘बिजनेस पार्टनर’ सावर्थिया बुवा(छोरीको नाममा हङकङमा ड्याजल डिजाइन लिमिटेड नामक कम्पनी खडा गरी वाइडबडी खरिद प्रकरणमा आधा अर्ब बढी कमिसन कमिसन व्यवस्थापन गरिएको दाबी छ । नेपाललाई लक्षित गरेर हङकङमा खोलिएको कम्पनी नीति इन्टरनेसनल लिमिटेडका ‘म्यानेजर’ समेत रहेका रमेशकुमार सावर्थिया र उक्त कम्पनी व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेकी उनको छोरी पूजाको नाममा ड्याजल डिजाइन लिमिटेड खडा गरिएको खुल्न आएको हो । रमेश मल्होत्रा मार्फत नै हङकङमा नेपाल चेम्बर अफ कमर्समा जोडिएको तथ्य समेत फेला परेको छ । ड्याजलमा जोडिएकी पूजाले दुबईस्थित अमेरिकन युनिभर्सिटीबाट बीबीए गरेकी हुन् ।
अमेरिकी ओभरसाइट एजेन्सी एसईसीले हङकङमा खडा भएको ड्याजल डिजाइन लिमिटेड मार्फत साढे ४२ लाख अमेरिकी डलर अर्थात् झन्डै ५६ करोड बढी नेपाल रुपैयाँ घूस ९कमिसन० व्यवस्थापन गरेको दाबी गरेको छ । एएआरले दीपक शर्मा मार्फत ड्याजल डिजाइन लिमिटेड र उक्त कम्पनीबाट दीपक मल्होत्राले पैसा लिएर नेपालका प्रभावशाली राजनीतिज्ञ र उच्च पदस्थ कर्मचारीलाई बाँडेको एसईसीको आशंका छ ।

वाइडबडी खरिदमा एएआरले एकपटक ४० लाख डलर र अर्कोपटक साढे २ लाख डलर ड्याजल डिजाइन लिमिटेड, हङकङलाई पठाएको अमेरिकी एसईसीको निष्कर्ष छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा मल्होत्राले बिचौलियाको रूपमा काम गरेको भनेर अमेरिकाको एसईसीले उनीमाथि समेत अनुसन्धान गरिरहेको पाइन्छ ।

अमेरिकामा दीपक शर्मा, हङकङमा रमेश सावर्थिया र नेपालमा सुगतरत्न कंसाकार तथा दीपक मल्होत्राले वाइडबडी जहाज खरिद कमिसनको जाँचोपाँचो मिलाएको अमेरिकी एजेन्सीको प्रारम्भिक निष्कर्ष छ । यो सुइरो निकै परसम्म पुगेर नेपालको राजनीतिक र प्रशासनिक तहमा पहिरो समेत जाने खतरा देखिन्छ ।

कतिपयले त कंसाकारले वाइडबडी घोटालाको पैसाबाट भक्तपुर नगरकोटमा तायो इको रिसोर्ट समेत खोलेको आरोप लगाउँदै आएका छन् । अमेरिकी संयन्त्रले त्यसको वास्तविकता पत्ता लगाउने विश्वास गर्न सकिन्छ ।
नेपालमा समेत कार्यक्षेत्र भएको संयुक्त अरब इमिरेट्स को दुबईमा रहेको सावर्थिया ग्रुपका निर्देशक रमेश कृष्णा इन्टरनेसनलका प्रमुख समेत हुन् । कृष्णा इन्टरनेसनलले हङकङमा कृष्णा होल्डिङ्स नामको अर्को कम्पनी दर्ता गरेको छ । कृष्णा इन्टरनेसनल नेपालसहित मध्यपूर्व, अफ्रिका, एसिया र एसिया प्रशान्त क्षेत्रका २० भन्दा बढी देशमा विभिन्न कम्पनीका मोबाइल डिभाइस ट्याब्लेट्स, र अन्य उपकरणको मुख्य वितरक कम्पनी हो । सामसुङ, एप्पल, हुवावे जस्ता शक्तिशाली कम्पनीका सामान कृष्णाले विभिन्न देशमा पुऱ्याउने गरेको उसको वेबसाइटमा उल्लेख छ ।

नेपालको सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टमा लगानी गरेका कृष्णाका मालिक रमेश सावर्थियाले १८ वर्ष अगाडि ज्ञानेश्वरमा व्यवसायिक कम्प्लेक्स बनाउन हङकङबाट ३० करोड लगानी भित्र्याएका थिए ।

कृष्णा इन्टरनेसनलका मालिक भने नेपालको वाइडबडी जहाज खरिदको कमिसन व्यवस्थापनमा लागेको अमेरिकी ओभरसाइट एजेन्सी कै दाबी छ । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिक्स क्रिमिनल डिभिजनले नेपाल सरकारसँग पारस्परिक कानुनी सहायतामार्फत मल्होत्राका विषयमा पत्रचार गरिएको छ ।

प्रतिक्रिया