४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

यसरी तुहिएको थियो विकल पौडेलको दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्ने योजना


581
Shares

काठमाडौं, १८ चैत्र । आइटी घोटालाका योजनाकार विकल पौडेलले देशमा ठूलै प्रभाव बनाइसकेका थिए । उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्ने योजनामा बढिसहेका थिए । तर, परिस्थिति प्रतिकूल बन्दा उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासतमा पुगे । सेक्युरेटी प्रेससम्बन्धी खरिदमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका उनी सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट समेत बर्खास्त हुन पुगेका छन् ।

एमआरपी, इम्बोस्ड नम्बर प्लेट, अन्तस्शुल्कस्टिर जस्ता ठेक्का घोटालाका प्रमुख पात्र विकल टेरामक्स प्रविधि र विद्यालय आइटी ल्याबका समेत योजनाकार भएका खुल्न आएको छ । तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई टेरामक्स प्रविधि अगाडि बढाउन उक्साउने व्यक्ति नै विकल भएको पाइएको हो । तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक विकलकै डिजाइनमा बस्नेतले टेरामक्स खरिद गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको सञ्चारका तत्कालीन अधिकारीहरू सुनाउँछन् ।

तत्कालीन दूरसञ्चार प्राधिकरणको नेतृत्वलाई टेरामक्स प्रविधि किन्नु पर्छ भन्ने कुरा ज्ञान नहुँदै तत्कालीन सञ्चारमन्त्री बस्नेतले इन्टरनेसनल कल मोनिटरिङका लागि सिस्टम किन्न निर्देशन दिएका थिए । उक्त निर्देशन विकलको डिजाइनमा दिइयो ।

इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त इक्विपमेन्ट र सिस्टम सञ्चालन गर्ने तथा आईसीटी प्रवर्द्धन गर्न डिजिटल नेपालको अवधारणा कार्यान्वयन प्रारम्भ गर्ने पाइलट प्रोजेक्टको रुपमा सातै वटा प्रदेशका तपशील अनुसारका दुईरदुई वटा जिल्लाहरुका सामुदायिक प्राथमिक र प्राथमिक सहितको निम्न माध्यमिक र माध्यमिक विद्यालयहरु९१–३ कक्षा, १–५ कक्षा, १–८ कक्षा, १–१० कक्षा र १–१२ कक्षा०लाई आवश्यक कम्प्युटर–२ थान र एसेसरीज समेत यसै आर्थिक वर्ष २०७४र७५ को ६ महिना भित्र उपलब्ध गराउने गरी कार्यक्रम थप गर्ने गरी प्रक्रिया अगाडि तुरुन्त बढाउने ।’, २०७४ भदौ २३ गते तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दूरसञ्चार प्राधिकरणलाई दिएको टिप्पणी आदेशमा उल्लेख छ । उक्त निर्देशनसँगै टेरामक्स खरिद र विद्यालयमा आइटी ल्याब खरिदका लागि प्रक्रिया अगाडि बढेको देखिन्छ । उक्त टिप्पणी आदेशको भाषा लेख्ने व्यक्ति नै विकल भएको सञ्चार मन्त्रालयका स्रोतले बताएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणमा आर्थिक चलखेल गर्न सकिने भएकाले विकल पौडेल त्यसको अध्यक्ष बन्ने योजनामा थिए । तर, बस्नेत सञ्चारमन्त्रीबाट हटेपछि उनी दूरसञ्चारको अध्यक्ष बन्नबाट बन्चित भए । त्यसपछि सुरक्षण मुद्रण केन्द्र जन्माएर त्यसको कार्यकारी निर्देशक बन्न विकल सफल भए ।

विकल तत्कालीन अवस्थामा दूरसञ्चार प्राधिकरणको अध्यक्ष नबनेपछि टेरामक्स प्रविधि खरिद प्रक्रिया अघि बढाउन सक्रिय रहे । विद्यालय आइटी ल्याब त उनी जोडिए कै कम्पनी ओम्नी( म्याक्स जेभीले पायो । डेढ अर्ब पनि नपर्ने १ हजार विद्यालयमा आइटी ल्याब स्थापना गर्ने प्रोजेक्ट विकल कै डिजाइनमा ३ अर्बको बन्न पुग्यो । सुरेन्द्र कार्की सञ्चारमन्त्री हुँदा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेका विकल गोकुलप्रसाद बाँस्कोटासँग झन् बढी जमे । गोकुल कै पालामा दूरसञ्चार प्राधिकरण नेतृत्वलाई प्रभावित पारेर विद्यालय आइटी ल्याब ओम्नी(म्याक्स जेभीलाई दिलाउन उनी सफल भए ।

विकलसँगको सम्बन्धका कारण महेन्द्रमान गुरुङ समेत सञ्चार सचिवमा दोहाऱ्याएर आउने मौका पाए । बस्नेतको पालाका सचिव गुरुङ पुनः सञ्चारमा आएपछि आइटी ल्याबको काम फटाफट अगाडि बढ्यो । सेटिङमा ओम्नीले सहजै ठेक्का हत्यायो ।

सञ्चारमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र सचिव बैकुण्ठप्रसाद अर्यालको जोडीसँग झनै निकट र भित्रिया भएर विकलले काम गरे । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई हटाएर फेरि अध्यक्ष बन्ने दाउमा विकल लागेका थिए । तर, खनालले तीनै जनालाई सन्तुष्ट पारेपछि विकल ‘ब्याक’ भए । त्योबापत विकलले राम्रै आर्थिक लाभ लिएको चर्चा सुनिन्छ । टेरामक्स भुक्तानीको कमिसनको लाभग्राही विकल समेत बने। विकलको खातामा मोटो रकम जम्मा भएको खुलिसकेको छ ।

दूरसञ्चारको अध्यक्ष खनाल हटेपछि बन्ने शर्तमा कानुन फेरर विकल फेरि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बने । सुनिल पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाएर दूरसञ्चार प्राधिकरणको नेतृत्व हत्याउने उनको सपना अख्तियारले तुहाइदियो । अहिले अकुत सम्पत्ति आर्जनसहितका उजुरीमा सुनिलसँगै विकल पनि अख्तियारको हिरासतमा पुगेका छन् ।

अमेरिकाका कानुनी आवासीय स्थायी अनुमति लिएको फेलापरेपछि विकललाई सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट समेत बर्खास्त गरेको छ । अख्तियारको निर्देशनपछि उनी बर्खास्तमा परेका छन् । विकलको डिजाइनमा टेरामक्स र विद्यालयमा आइटी ल्याब खरिदको घोटालामा संलग्नहरूमाथि पनि छानबिन गर्न जरुरी छ । दूरसञ्चार कोषको ठूलो घोटाला विद्यालय आइटी ल्याबमा समेत अख्तियारले हात हाल्न ढिला भइसकेको देखिन्छ । ओम्नी, म्याक्ससँग मिलेर दूरसञ्चार प्राधिकरणले किनेको आइटी ल्याब उपकरणमा ठूलो अनियमितता भएको खुलिसकेको छ ।

प्रतिक्रिया