२१ आश्विन २०८३, बुधबार | October 7, 2026

उपसभापतिमा रन्जित कर्णको उम्मेदवारी : ‘राजनीतिक दलको नेतृत्वमा अब युवा र विषय विज्ञ पुग्नुपर्छ’


October 7, 2026
332
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य रन्जित कर्णले राजनीतिक दलको नेतृत्वमा युवा र विषय विज्ञको सहभागिता बढाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी दिएका कर्णले विश्वमा युवाहरूले नयाँ प्रविधिको विकास गर्दै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको भन्दै नेपालको राजनीतिक नेतृत्वमा पनि युवालाई अघि बढाउनुपर्ने बताएका हुन्।

कर्णले आफूले युवा नेतृत्वको एजेन्डालाई व्यवहारमै अघि बढाउन उपसभापतिमा उम्मेदवारी दिएको बताए।

‘हाम्रो देशको प्रधानमन्त्री युवा हुनुहुन्छ। विश्वमा अनेकन प्रविधिको विकास युवाहरूले गरेका छन्। त्यसैले राजनीतिक दलहरूको नेतृत्व पनि युवाले गर्नुपर्छ भन्ने धारणाका साथ उपसभापतिमा उम्मेदवारी दिएको हुँ,’ कर्णले भने।

पेशाले इन्जिनियर रहेका कर्णले राजनीतिक नेतृत्वमा विषय विज्ञको उपस्थितिसमेत आवश्यक रहेको बताए। उनका अनुसार बदलिँदो विश्व परिवेश, प्रविधिको तीव्र विकास र नयाँ पुस्ताका अपेक्षालाई सम्बोधन गर्न राजनीतिक दलको नेतृत्वमा युवा तथा विज्ञहरूको भूमिका महत्वपूर्ण हुन्छ।

युवालाई नेतृत्वमा ल्याउनुपर्ने विषयमा आफूले लामो समयदेखि आवाज उठाउँदै आएको बताउँदै कर्णले यसपटक सिधै उपसभापति पदमा उम्मेदवारी दिएको उल्लेख गरे।

‘युवालाई नेतृत्वमा ल्याउनुपर्छ भनेर नै अहिले म सिधै उपसभापतिमा उम्मेदवारी दिन पुगेको हुँ,’ उनले भने।

कर्णको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। उनी नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य बनेका कर्ण हाल राष्ट्रिय सभा सदस्यसमेत छन्।

१४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका कर्णले १५औँ महाधिवेशनमा भने समावेशीतर्फ उपसभापति पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्।

उनको उम्मेदवारीसँगै कांग्रेसको नयाँ नेतृत्व चयनको प्रक्रियामा युवा नेतृत्व, विषय विज्ञता र पुस्तान्तरणको एजेन्डा पनि चर्चामा आएको छ।

प्रतिक्रिया